युवालाई व्यावसायमा आकर्षण गर्न इन्क्युबेशन सेन्टर

अत्तरिया : धनगढीमा व्यावसाय संवद्र्धन केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा छलफल भएको हो ।
सुदूरपश्चिम प्रदेशका व्यावसायी तथा सरोकारवाला निकायहरुबीचमा छलफल भएको हो । छलफल कार्यक्रमको मुख्य अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लक्ष्मण चौधरीले आर्थिक मन्दी भएका वेलामा यस प्रकारका छलफलले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरे । ‘देशमा वेरोजगारी समस्या ब्याप्त छ । युवाहरुमा वैदेशिक रोजगारको लहर नै छ ।’, उनले भने ‘सरोकारवालाको छलफलबाट नै आगामि योजनाका लागि मार्ग दर्शन बन्ने हो ।’ ‘प्राकृतिक स्रोत साधनलाई पनि सदुपयोग गर्न सकेको छैन । त्यसले गर्दा त्यतिकै खेर गएको छ’ उनले भने । ‘विभिन्न कलेजमा इन्क्युबेशन सेन्टर खोलेर युवाहरुको योजना बुन्ने प्रक्रिया भएको छ । यसले गर्दा युवालाई केहि गरौँ भन्ने भावना पैदा हुन्छ ।’ उनले व्यवसायको सम्बृद्धिका लागि आफु जहिलेसुकै सहयोग गर्न तयार रहेको भन्दै प्रतिबद्धता समेत गरे । कार्यक्रममा अत्तरियामा व्यवसायी गरिरहेका व्यवसायी भिष्म वलायरले सरकारले ल्याएको कार्यक्रमले आफुलाई सहयोग पुगेको भन्दै खुशी व्यक्त गरे । उनले अत्तरियामा ब्याग उद्योग सञ्चालन गरेका छन् । प्रयास गरेमा सबै कुरा देशमा सम्भव भएको व्यवसायी वलायरले बताए । ‘युवाहरुमा अहिले निरासा मात्र देखिन्छ’, उनले भने । ‘कुनै पनि व्यवसायीमा धैर्य गरेमा एक दिन प्रतिफल पक्कै पनि पाइन्छ ।’ छोटो समयमा धेरै परिणाम खोज्दा समस्या उत्पन्न हुने गरेको उनले अनुभव सुनाए । उनले आफुले दैनिक ४० देखि ५० ब्याग उत्पादन बनाई रहेको बताए । वाहिरबाट आएको भन्दा सस्तो ब्याग आफुले यहाँ नै बनाई रहेकोले गर्दा बजारको पनि समस्या नभएको उनले बताए ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले सरकारले इन्क्युबेशन सेन्टर सञ्चालनले ल्याएर युवाहरुको सिपको पूर्ण उपयोग हुने विश्वास गरे । सरकारले मुलुकमा उद्यमको संवद्र्धन गर्न र रोजगारी बढाउन यस्ता केन्द्र स्थापना गर्नुपर्ने आवाज निजीक्षेत्रले पनि उठाउँदै आएको उनले स्मरण गराए । यसलाई निरन्तरता दिन उनले कार्यक्रममा सुझाए । यसले गर्दा युवाहरु पलायन हुनबाट रोकीने विष्टले विश्वास व्यक्त गरे ।
कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले नव युवाहरुलाई व्यवसायमा आकर्षण गर्नका लागि सरकारले सहुलियतमा ऋण दिएर भए पनि लगानी गरिरहेको बताए । ‘यो कार्यक्रम गत बर्षबाट सुरु भएको हो’, उनले भने ‘एक बर्षमा १ सय ८३ जना युवाहरुलाई उद्यमी बनाएर अगाडि बढेको छौँ ।’ यसका नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढीरहेको उनले उल्लेख गरे । ‘केन्द्रमा १२ कक्षा तथा स्नातक सकेका विद्यार्थीदेखि व्यवसायमा लाग्न इच्छुकलाई सघाउने गरी काम गरिनेछ,’ गुप्ताले भने, ‘व्यवसाय शुरू गर्न जेजस्ता जानकारी आवश्यक हुन्छ ती विषयमा सघाइनेछ ।’
व्यवसाय शुरू गर्नेदेखि कार्यालय स्थापनालगायत विषयबारे केन्द्रले जानकारी उपलब्ध गराउने गुप्ताले बताए । कार्यक्रममा सुदूरपश्चिम क्याम्पस धनगढीका इन्क्युबेशन सेन्टर प्रमुख मनोज भट्ट र कैलाली बहुमुखी क्याम्पसका उप प्रध्यापक शिवप्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सरकारी र गैरसरकारी निकायको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.