पहिलो बर्षामै सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

अत्तरिया : सुदूरपश्चिका पहाडी जिल्लामा हिमपात भएको छ । यस बर्ष पहिलो बर्षामा नै सोमबार हिमपात भएको हो । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षासंगै हिमपात भएको छ ।
हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, बाजुरा, डोटी, बैतडी, दार्चुला र डडेल्धुरा लगायतका जिल्लामा हिमपात भएको छ ।
आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै हिमपात सुरु भएको हो । वर्षासंगै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटी लगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।
डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ । डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो । बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले आइतबार बेलुकीदेखि हल्का वर्षसँगै हिमपात भएको जानकारी दिए । ‘१ फिटभन्दा बढि हिउँ जमेको छ । अहिले पनि हिमपात भइरहेको छ,’ उनले भने । वर्षा र हिमपात भएपछि बालीनालीमा सिँचाई पाएको र अब लगाउने बेला भएको बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको अध्यक्ष साउदले बताए ।
जल तथा मौसम विज्ञान विभागले डोटीको पश्चिम सेती केन्द्रमा ६ घन्टाको अवधिमा १.८ र दिपायलमा १ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ । वर्षा र हिमपातसँगै तापक्रम घट्दा भने जनजीवन केही प्रभावित भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ । हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिए । त्यस्तै जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ ।
आइतबार रातिदेखि बाजुराका बडिमालिका, खप्तड छेडेदह गाउँपालिका, बुढीनन्दा जगनाथ, मिली स्वामिकार्तिक लगायतका उच्च स्थानमा हिउँ परेको छ । हिउँपरेपछि जनजीवन निकै प्रभावित भएको छ ।
आगो बालेर पठनपाठन
बाजुराको बुढीनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयले आगो बालेर पठनपाठन गर्दै आएको छ ।
गत आइतबार रातीदेखि यहाँ बाक्लो हिमपात सुरु भएपछि बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी विद्यालयले बाहिर आगो बालेर बालबालिकाहरुलाई पठनपाठन गर्न थालेको हो । हिमपातका कारण बालबालिकाहरुको पढाइ प्रभावित हुने भएपछि अहिले आगो बालेर पढाउने गरेको विद्यालयले जनाएको छ । बाहिर बाक्लो हिमपात परिरहेको छ । तर यहाँका बालबालिकाहरु भने हातहातमा किताव समातेर राम्रोसँग पढिरहेका छन् ।
हिमपातका कारण चिसो भएपछि आगो बालेर किताब पढ्ने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताए । उनले भने, यहाँ उसै त हिउँदको महिना धेरै सिचो हुन्छ । त्यसमा पनि हिजो राति बाक्लो हिमपात परेको छ । अहिले पनि निरन्तर हिउँ परिरहेको छ । हामी सधै यसै विद्यालयमा बस्ने र खाने गर्छौ ।’
हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकोले अहिले आगो बालेर पढ्ने गरेको रावतले बताए । सधै यसरी नै चिसो हुन्छ । हिउँ परेपनि नपरे पनि यहाँ सधै चिसो हुने ठाउँ हो । तर अघिपछि भन्दा पनि हिउँ परेको बेला त झनै चिसो हुन्छ । यो लामो समय सम्म रहे भने यहाँका बालबालिकाहरुको पढाइ छुट्ने हुन्छ । उनीहरुको पढाइमा नछुट्ने गरी यती बेला हामीले आगो बालेर पढाउँने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताए ।
उनले भने, यहाँ प्रायः सबै भोटे जनजातीका बालबालिकाहरु पढ्ने गर्दछन् । भोटे समुदायको पेशा प्रायः भेडापालन भएकोले उनीहरु कहिले औल कहिले लेकमा आउने जाने गर्दछन् । जसका कारण उनीहरुका बालबालिकाहरुको पनि पढाइ छुट्ने गर्दछ । बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी केही वर्ष देखि हामीले उनीहरुलाई यतै राखेर पढाउने गरेको छौं ।’
यो ठाउँ भनेको उच्च हिमाली भेगमा पर्ने गर्दछ । विगतका केही वर्ष पहिला पनि यहाँ धेरै हिउँ परेको थियो । त्यो हिउँ झण्डै एक हप्तासम्म पनि बिलाएको थिएन । त्यति बेलामा पनि हामीले यसरी नै विद्यालयमा आगो बालेर बालबालिकाहरुलाई पढाउने काम गरेको रावतले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.