अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा वृहत फोहोर व्यवस्थापन प्रणाली निर्माण सम्पन्न भएको छ । यस परियोजनाले नगरपालिकाको दीर्घकालीन फोहोर व्यवस्थापन समस्याको समाधान गर्ने विश्वास गरिएको छ ।
अत्तरिया बजारमा पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तीको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको थियो । तर अब भने एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दुई वर्षअघि १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको काम निर्माण पश्चात एसियाली विकास बैंकका टिमद्वारा स्थलगत निरीक्षण गरेको छ ।
समय अवधिमा नै चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले काम सकाएको छ । आईतबार परियोजनाको गुणस्तर तथा प्रभावकारिता बुझ्नका लागि एशियन डेभलपमेन्ट बैंक (एडिबि) को एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । निरीक्षण टोलीमा विशेषज्ञ, इञ्जिनियर, र प्रशासनिक अधिकारीहरू समावेश छन् ।
एडिबिको टोलीका सदस्यहरूले परियोजनाको व्यवस्थापन, प्रविधि, र वातावरणमैत्री उपायहरूको समीक्षा गर्दै स्थानीय अधिकारीहरूसँग छलफल गरेका छन् । निरीक्षणपछि टोलीले परियोजनाको प्रभावकारिता र सुधारका सम्भावनाहरूको रिपोर्ट तयार पार्ने जनाएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुखका अनुसार, यो परियोजनाले नगरपालिकाको सरसफाइमा ठूलो योगदान पु-याउनेछ । अब स्थानीय समुदायलाई पनि फोहोर व्यवस्थापनमा सचेत र सहकार्य गर्न प्रोत्साहन गरिनेछ ।’
निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैलासँगै दिसाजन्य लेदोको छुट्टाछुटै व्यवस्थापन हुने बताए । उनले ठोस फोहोरलाई कुहिने, रिसाइकल हुने र कामै नलाग्ने फोहोरमा विभाजन गरेर व्यवस्थापन गरिने भन्दै दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि पाँच घनमिटर र आठ घनमिटरका छुट्टै सेड निर्माण गरिएको बताए ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घनमिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ । ठोस र दिसाजन्य फोहोर ट्याङ्करमा लोड गरेर केन्द्रसम्म पु¥याइने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि तीन वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्नेगरी सम्झौता गरिएको छ । नगरप्रमुख भट्टले फोहोरमैला व्यवस्थापनका लागि यति ठुलो परियोजना कार्यान्वयन ल्याउन निकै मिहेनत गर्नुपरेको बताउँदै यसबाट अब कम्पोष्ट मल उत्पादन गरी गोदावरीमा फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताए । स्थानीय बासिन्दाले यस प्रणालीले वातावरणीय स्वच्छता र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने आशा गरेका छन् ।
सम्बन्धित पाेस्टहरु