विपिन जोशी सकुशल छन : आरजू देउवा

काठमाडौं, २९ पुस : परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले इजरायलबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको बताएकी छन् । उनले जोशी सकुशल फर्केर आउनेमा आफू ढुक्क रहेको बताईन् ।
सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’ त्यसका लागि कतारस्थित नेपाली राजदूतले त्यहाँका विदेशमन्त्रीसँग कुराकानी गर्ने उनको भनाई छ ।
कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन् । उनी इजरेल र नेपाल सरकारबीचको सम्झौता अनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।
कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । अन्य दुईजना भने सकुशल थिए । त्यसयता पीडामा रहेको उनको परिवार विपिनको बाटो कुरी बसेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.