धनगढी : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सुदूरपश्चिममा खेलकुदका सम्भावनाबारे आफ्नो विचार प्रकट गर्दै भलिबललाई पहिलो स्थानमा राख्नुपर्ने बताए ।
डडेल्धुराको परशुराम नगरपालिकास्थित परशुरामधाममा आयोजित ’सुदूरका सम्भावना’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ’सुदूरको सम्भावनामा आजको मितिमा पनि भलिबल खेल नै पहिलो नम्बरको हो,’ उनले भने, ’अहिले क्रिकेटले गति लिएको देखिए पनि भलिबलको सम्भावना कम भएको छैन, अझै बलियो छ ।’
चन्दले भनेजस्तै भलिबलमा सुदूरपश्चिमले धेरै प्रतिभाशाली खेलाडी उत्पादन गरेको छ । अझै पनि स्रोतसाधन, प्रशिक्षक र उचित व्यवस्थापनको कमीका कारण सुदूरपश्चिमले आफ्नो पूरा क्षमता देखाउन नसकेको धेरैको बुझाइ छ । सुदूरपश्चिम पहाडका स्थानीय तह र क्लबहरूले भलिबल प्रतियोगिता आयोजना गरिरहेका छन् । बाक्लै खेल भइरहने कारण खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने गरेका छन् ।
सुदूरपश्चिमका धेरै खेलाडीले भलिबलबाट आफ्नो देश नेपाल विश्वमा चिनाउन राष्ट्रिय टिमबाट खेल्ने सपना देख्ने गरेका छन् । उनीहरू प्रशिक्षण लिन चाहन्छन् तर खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि भलिबल प्रशिक्षक नगन्य छन् । कतिपय खेलाडी र प्रशिक्षक विदेश पलायन भए, तैपनि सुदूरपश्चिमको भलिबल खेल बलियो बनाउने प्रयास जारी छ ।
प्रदेशमा बलियो सम्भावना रहेको भलिबल खेल उचाइमा पु¥याउन कम्मर कसेर लागेका एक जना प्रशिक्षक हुन् लालबहादुर बटाला । उनले आफ्नो जीवन नै भलिबल खेलमा समर्पण गरेका छन् । अछाममा हालको साफेबगर नगरपालिका–१३ मा जन्मेहुर्केका बटाला बाल्यकालमै खेलमा लागे । त्यस बेला कुद्नु, उफ्रिनु र पुरानो मोजामा झुम्रा खाँदेर बनाएको गोल खेल्नुबाहेक अर्को खेल थिएन ।
’बाल्यकालमा मोजाको बलबाटै खेलको सुरूआत भयो । स्कुलमा हामी यसरी नै खेल्थ्यौं,’ त्यो विगत स्मरण गर्दै उनले भने, त्यसरी सुरू गरेर पनि प्रशिक्षक बन्ने तहमा पुग्दा खुसी लागेको छ ।’ २०६३ सालमा एसएलसी पास गरेपछि उनी कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहाँ भलिबल उपलब्ध भयो । व्यवस्थित कोर्टमा साथीहरूसँग खेल्ने अवसर प्राप्त भयो ।
त्यही बेला उनले भलिबल प्रतियोगिताबारे थाहा पाए । क्याम्पसको खेलाडी बनेर प्रतियोगितामा सहभागी भए । क्याम्पसको टिम हुँदै राष्ट्रिय खुला प्रतियोगितामा पुगे । भलिबल खेल्दै देशका धेरै ठाउँ पुगे ।
बटालासँग खेलेका धेरैजसो खेलाडी अहिले खेल जीवनबाट बिदा भइसकेका छन् । उनी पनि प्रतिस्पर्धी भएर खेल्न छाडे तर भलिबल छाडेनन् । उनले आफूपछिका खलाडीलाई सिकाउने प्रशिक्षणको बाटो रोजे । सन् २०१९ मा उनले भारतको पटियालामा भलिबल प्रशिक्षणमा डिप्लोमा कोर्स पूरा गरेर व्यावसायिक प्रशिक्षणको सीप हासिल गरे । त्यो कोर्सले उनलाई आधुनिक प्रशिक्षक बनायो । ’प्रशिक्षण पूरा गरेपछि म आफ्नो लक्ष्यमा अघि बढेँ। मेरो लक्ष्य दक्ष खेलाडी उत्पादन गर्नु हो । यसैअनुसार व्यक्तिगत प्रयासले महेन्द्रनगरमा नयाँ खेलाडीका लागि निःशुल्क प्रशिक्षण सुरू गरेँ,’ उनले भने । प्रशिक्षणको काम अघि बढ्दै थियो । सुदूरपश्चिम खेलकुद परिषदले आर्थिक वर्ष २०७९\८० मा उनलाई भलिबल प्रशिक्षक पदमा नियुक्त दियो । त्यसयता उनी धनगढीको कभर्डहलमा दैनिक रूपमा भलिबल प्रशिक्षण दिन्छन् । हाल पुराना र नयाँ गरी ७० जना खेलाडी उनीसँग प्रशिक्षण लिँदै छन् । यिनमा महिला र पुरूष खेलाडी छन् । बटालासँग प्रशिक्षण लिएका केही खेलाडी राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भइसकेका छन् । केही राष्ट्रिय टोलीमा पनि पुगेका छन् ।
गत असोजमा श्रीलंकाको कोलम्बोमा भएको ’काभा यु–२० पुरूष भलिबल च्याम्पिनसिप’ मा नेपाली टिम उपविजेता बनेको थियो । उक्त टिममा अर्जुन नेपालीको कप्तानीमा १२ जना खेलाडी सहभागी थिए । मुख्य प्रशिक्षक थिए रमेश कार्की; सहायक प्रशिक्षक बटाला नै थिए । अर्जुन सुदूरपश्चिमै खेलाडी हुन् । उनलाई प्रशिक्षण दिने पनि बटाला नै हुन् । उनका अनुसार अर्जुनले ९ कक्षामा पढ्देखि भलिबल सिकेका हुन् ।
त्यही टिमका अर्का खेलाडी आशोक राना पनि बटालाकै प्रशिक्षार्थी थिए । खेलाडीहरूका अनुसार बटाला उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन् । ’बटाला गुरूको प्रशिक्षणबाटै भलिबल खेलमा मेरो जग बनेको हो । अरू धेरै साथीहरूले उहाँसँग सिकेका छन्,’ सुदूरपश्चिमकै खेलाडी रमेश बमले भने, ’हामीलाई राष्ट्रिय स्तरको प्रतियोगितासम्म पु-याउन उहाँको योगदान छ । नयाँ खेलाडी उत्पादनमा उहाँको भूमिका महत्वपूर्ण छ ।’
अर्का खेलाडी बलदेव धामी सुदूरपश्चिममा भलिबल खेलाडी उत्पादन गर्न बटालाले धेरै मेहनत गरेको बताउँछन् । ’गुरूले हाम्रो कमजोरी सुधारेर खेल्न सिकाउनुभयो । हामीलाई अघि बढाउन उहाँको ठूलो भूमिका छ,’ उनले भने ।
सुदूरपश्चिममा भलिबलमा उत्साही खेलाडीहरू भए पनि स्रोतसाधन र प्रशिक्षकको अभाव छ । बटालाका अनुसार स्रोतसाधनमा खेल सामग्री र खेल्ने ठाउँको कुरा मात्र हुँदैन । खेलाडीको पारिवारिक तथा सामाजिक अवस्था र खानपिनको कुरा पनि आउँछ । ’प्रशिक्षणमा धेरै पक्षको प्रभाव हुन्छ । डाइट (पोषक खाना) र फिटनेस (तन्दुरूस्ती) अभावमा खेलाडीले आफ्नो पूरा क्षमता देखाउन सक्दैन,’ बटालाले भने, ’खेल राम्रो हुन टिम प्रशिक्षण नियमित हुनुपर्छ । स्रोतसाधन पनि हुनुपर्छ । हामी अत्यन्तै सीमित स्रोतसाधनमा छौं। दालभात मात्र खाएर त खेल राम्रो हुँदैन ।’
सुदूरपश्चिमका जिल्लामा नियमितजसो भलिबल प्रतियोगिता हुने गरे पनि आधुनिक प्रशिक्षण र निरन्तर अभ्यासको कमी छ । यस्तो अवस्थामा खेलाडीको स्तर बढाउन निकै कठिन हुने बटालाको अनुभव छ ।
स्रोतसाधन अभावकै बीचमा पनि बटाला निराश छैनन् । आफ्नो लक्ष्य र खेलाडहरूको उत्साहले उनलाई जाँगरिलो राखेको छ । उनी सुदूरपश्चिमका भलिबल खेलाडीको प्रतिभा उजागर गर्दै राष्ट्रिय स्तरमा प्रतियोगी बनाउन चाहन्छन् । त्यसपछि राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय स्तरमा पुगून् भन्ने सपना देख्छन् । ’सुदूरपश्चिमको भलिबलमा अपार सम्भावना छ । आवश्यक स्रोतसाधन उपलब्ध हुन सके यहाँका खेलाडीले देशको नाम चम्काउन सक्छन्,’ बटाला भन्छन्, ’मैले प्रशिक्षण दिन थालेपछि सुदूरपश्चिमको टिमले धेरै ठाउँबाट पदक पाएको छ । हामी धेरै ठाउँमा पुरस्कृत भएका छौं ।’