अत्तरिया, ६ माघ : धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ ।
खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको समूह बीको खेलमा कोशीले १० रनले बागमती प्रदेशलाई पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको लागि निम्त्याइएको कोशीले १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनाएको थियो । कोशीको लागि बिमला मलाहाले १९ र कप्तान रुविना क्षेत्रीले १५ रन बनाए । अरु ब्याटरकोे प्रदर्शन उल्लेखनीय रहन सकेन ।
बागमतीका लागि मनीषा उपाध्यायले एक्लै चार विकेट लिएपछि कोशीले निर्धारित ओभरमा चुनौतीपूर्ण लक्ष्य दिने गरी रन बनाउन सकेन । तर जवाफी ब्याटिङ गरेको बागमतीको प्रदर्शन राम्रो रहन सकेन । ६४ रनको जित लक्ष्य पछ्याएको बागमती पाँच बल खेल्न बाँकी छँदै आफ्नो सबै विकेट गुमाएर ५३ रनमा सीमित भयो ।
बागमतीका लागि सविका यादवले २० र विपिषा शाहीले १२ रन बनाए । बागमतीलाई जितबाट रोक्ने क्रममा कोशीका कप्तान रुविना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई–दुई विकेट लिए । खेलमा कोशीका कप्तान क्षेत्री प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भइन ।
सम्बन्धित पाेस्टहरु