अत्तरिया : प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा समूह बी अन्तर्गतको आज भएको पहिलो खेलमा आर्मीले कोशीलाई नौ विकेटले पराजित गरेको हो ।
खराब मौसमका कारण घटाएर सात ओभरमा झारिएको खेलमा आर्मीले टस जितेर कोशीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कोशीले सात ओभर खेल्दै पाँच विकेटको नोक्सानमा ३६ रनमात्रै बनाउन सक्यो । कोशीका लागि स्मृति कटुवालले सर्वाधिक १४ रनको योगदान दिए। कोशीलाई कम रनमा रोक्ने क्रममा आर्मीका मनिषा चौधरीले तीन विकेट लिए । उनी प्लयेर अफ द म्याच घोषित भए । त्यस्तै, सुस्मिता भुषालले दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रेको आर्मीले चार बल बाँकी छँदै एक विकेट गुमाएर लक्ष्य भेट्टायो । आर्मीको जितमा सम्झना खड्काले नटआउट ३२ रन बनाए ।