प्रधानमन्त्री कप महिला टी–२० : एपीएफको दबदबा, बागमतीलाई १० विकेटले हरायो

अत्तरिया : धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा विभागीय टिम एपीएफ क्लबले शानदार प्रदर्शन गर्दै बागमती प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

सुपर फोर अन्तर्गत बिहीबार भएको पहिलो खेलमा बागमतीले दिएको ४३ रनको झिनो लक्ष्य एपीएफले ६।५ ओभरमै बिना कुनै विकेटको क्षतिमा पूरा गर्‍यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशको प्रदर्शन निकै कमजोर रह्यो। निर्धारित १८ ओभरमै सबै विकेट गुमाएर मात्र ४२ रन जोड्न सफल भयो।
बागमतीका तर्फबाट यशु पाण्डे, सविका यादव र यलि यादवले समान ८–८ रनको योगदान दिए। विपिशा शाहीले ७ रन र यशोधा विष्टले ३ रन बनाए। कप्तान कञ्चन श्रेष्ठ, सलिना सिलवाल र मनिषा उपाध्याय भने शून्य रनमै आउट भए। एपीएफका बलर सुमन विष्टले सर्वाधिक ३ विकेट लिँदै बागमतीलाई सस्तोमा समेट्न महत्वपूर्ण भूमिका निभाइन्। रेखा रावल र बिनु बुढाले समान २–२ विकेट लिँदा कविता जोशीले १ विकेट लिइन्।

४३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एपीएफका ओपनर ममता चौधरी र राजमति ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्य पूरा गरे। ममता २३ रन र राजमति १४ रनमा अविजित रहे।
यस जितसँगै एपीएफले २ अंक जोडेको छ। समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उपविजेता बागमती सुपर फोरमा प्रवेश गरेका थिए। सुपर फोरमा शीर्ष २ स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। धारिलो बलिङ र सन्तुलित ब्याटिङ प्रदर्शनका कारण एपीएफ उपाधि दाबेदार टोलीको रूपमा उभिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.