गोदावरी नगर–१ द्वारा एचआईभि संक्रमितलाई न्यानो कम्बल वितरण

अत्तरिया, १३ माघ : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा एचआईभि संक्रमितलाई २३ जनालाई न्यानो कम्बल वितरण गरिएको छ । शैलेश्वरी महिला समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गोदावरी नगरपालिकाको ४० हजार रुपैयाँ बजेटबाट संचालित भएको हो । वडा अध्यक्ष गोपालदत्त भट्टले कार्यक्रममा एचआईभि संक्रमितहरूलाई समाजमा खुलेर अगाडि आउन प्रेरित गर्दै उनीहरूलाई सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले एचआईभि संक्रमितहरूलाई एक्ल्याउनु हुँदैन भन्ने सन्देश दिंदै, समुदायका सबै सदस्यहरूलाई सजग रहन आग्रह गरे । उनका अनुसार, संक्रमित व्यक्तिहरूलाई उचित उपचार, पोषण, र मनोवैज्ञानिक साथ आवश्यक छ, जसले उनीहरूको जीवनयापन सहज बनाउन सहयोग गर्छ ।
अध्यक्ष भट्टले पछिल्लो समयमा उपलब्ध औषधि र चिकित्सकीय सेवाका कारण संक्रमितहरूले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्ने बताए । उनले समाजमा रहेका सबै व्यक्तिहरूले एचआईभि सम्बन्धी जानकारी राख्नुपर्ने उल्लेख गर्दै, सचेतना अभियानलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।
शैलेश्वरी महिला समूहका प्रतिनिधिहरूले समेत एचआईभि संक्रमितहरूलाई आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले संक्रमितहरूप्रति समाजको धारणा परिवर्तन गर्नुपर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा वडा सदस्य गम्भिर साउद सँगै स्थानीय समाजसेवी, जनप्रतिनिधि, तथा संक्रमित व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता सहयोगी कार्यहरूले संक्रमितहरूलाई मनोबल बढाउन मद्दत गर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.