सुदूरपश्चिम प्रदेश विषयगत समितिका सभापतिको निर्वाचन स्थगित

धनगढी, १६ माघ : सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन फेरि स्थगित भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको आग्रहमा विषयगत समितिका सभापतिहरूको निर्वाचन स्थगित गरिएको हो । यसअघि, गत असोजमा तय भएको निर्वाचन पनि स्थगित भएको थियो ।
प्रदेश सभा सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरेर माघ १८ गते शुक्रबार निर्वाचन तय गरेको थियो । सो निर्वाचन स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । प्रदेश सभा सचिवालयले माघ १३ गते निर्वाचन तालिका प्रकाशित गरी प्रदेश सभामा रहेका चारमध्ये तीन वटा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समितिका सभापतिको निर्वाचन तय गरेको थियो ।
सत्तागठबन्धन दलबिच अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको सभापति नागरिक उन्मुक्ति पार्टी, सामाजिक विकास समितिको सभापति नेकपा (एमाले) र सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पाउने सहमति छ । त्यस्तै, विशेष अधिकार समिति थप्ने र त्यसको सभापति नेपाली कांग्रेसबाट हुने सहमति गरिएको थियो ।
सार्वजनिक गरिएको निर्वाचन कार्य तालिकामा विशेष अधिकार समितिको सभापतिको निर्वाचन नसमेटिएकाले सबै समितिको सँगै निर्वाचन गर्नका लागि १८ गतेको निर्वाचन स्थगित गर्न आग्रह गरेको नेपाली कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.