अत्तरिया ६ लेन सडकखण्डमा तारजाली लगाउने कार्य तिब्र

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकखण्डको मेडियनमा तारजाली लगाउने कार्य तिब्र पारिएको छ । नगरपालिकाले सडकको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले तारजाली लगाउन कार्य अघि बढाएको हो ।
गोदावरी नगरपालिकाको सिमानामा पर्ने करिब पाँच किलोमिटर सडकखण्डमा तारजाली लगाइनेछ । पुल र जेब्रा क्रस क्षेत्र भने खुला राखिनेछ । नगरपालिकाका अनुसार यो कार्यका लागि ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँ खर्च गरिनेछ । यो रकममा भ्याट समेत समावेश गरिएको छ । नगरपालिकाले सुयल कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको छ ।
गोदावरी नगरपालिकाका सब इन्जिनियर शुभमकुमार क्षेत्रीका अनुसार यो परियोजनाको प्रारम्भिक लागत अनुमान एक करोड १८ लाख ४६ हजार ३५४ रुपैयाँ थियो । ठेक्काको सम्झौता अनुसार निर्माण कार्य २०८१ माघ २५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
तारजाली लगाउने ठेक्का गत मंसिर २५ गते दिइएको थियो । ठेक्का पाएको सुयल कन्ट्रक्सनले केही दिनअघि नै कार्य सुरु गरिसकेको छ । नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टका अनुसार तारजाली लगाइसकेपछि वृक्षारोपणको काम अघि बढाइनेछ । नगरपालिकाले यो कार्यलाई सडक सुरक्षा र हरियाली प्रवद्र्धनको महत्वपूर्ण परियोजनाका रूपमा लिएको छ । तारजालीले पैदलयात्री र सवारी साधनबीचको भिडन्त न्यून गर्ने, दुर्घटना रोक्ने तथा सडक सौन्दर्य बढाउने अपेक्षा गरिएको छ । वृक्षारोपणपछि सडक हराभरा भएर वातावरणीय सन्तुलन कायम राख्न थप योगदान पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.