
अत्तरिया, १९ माघ : कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारमा जारी प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि दुर्गालक्ष्मी नमुना माविले जितेको छ ।
फाइनल खेलमा सरस्वती मावि, गेटालाई २–० ले पराजित गर्दै दुर्गालक्ष्मीले उपाधि हात पार्यो विजेता टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सरस्वती माविले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
स्याउलेस्थित शारदा विद्या निकेतनले आयोजना गरेको प्रतियोगिता शिवशक्ति युवा क्लबको खेल मैदानमा सम्पन्न भयो । समापन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि थिए । उनले विजेता टिमलाई ट्रफी तथा पुरस्कार हस्तान्तरण गरे ।
प्रतियोगितामा सुरेश साउँद ‘प्लेयर अफ द फाइनल’ तथा ‘सर्वाधिक गोलकर्ता’ घोषित भए । वेस्ट गोलकिपरको उपाधि सुदीप विकले प्राप्त गरे भने सुमित चौधरी ‘उदयीमान खेलाडी’ र दिवस भट्ट ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए ।
