
अत्तरिया, १९ माघ : पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषद निर्वाचनमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट लालबहादुर बोहरा विजयी भएका छन् ।
उनी नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए । बोहराले ९० मतको अन्तरले निकटतम प्रतिद्वन्द्वी धन बहादुर चौधरीलाई पराजित गरे ।
बोहराले ४१७ मत प्राप्त गर्दा चौधरीले ३२७ मत पाएको नेल्टा सुदूरपश्चिम प्रदेशका सचिव हेमन्त बाजेले जानकारी दिएका छन् । निर्वाचनमा कुल ७४९ मत खसेको थियो । सुदूरपश्चिममा १ हजार ६६७ जना मतदाता हुन ।
बोहरा नेल्टा नेपालका सुदूरपश्चिम प्रदेश संयोजक हुन् । भूगोलतर्फ प्रदेश सदस्यमा निर्वाचित भएपछि बोहराले आफ्नो प्राथमिकता पशु स्वास्थ्य तथा सेवामा कानुनी मान्यता, मर्यादा र गुणस्तर कायम गर्नेमा रहेको बताए । उनले एक गाउँ एक प्राविधिक योजना, करार सेवामा कार्यरत प्राविधिकहरूको दिगो व्यवस्थापन, निजी क्षेत्रलाई दर्ता र नवीकरणमा सहजता ल्याउने र परिषदसँग सरोकार राख्ने पेसागत संस्थाहरूका सदस्यहरूको योग्यता, अनुभव र सीपअनुसार कार्य सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
