
अत्तरिया : कैलालीको धनगढीमा प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी हुने भएको छ । कृषि विकास निर्देशनालय डोटीको आयोजनामा यही माघ २६ गतेदेखि ३० गतेसम्म कृषि तथा पशुपन्छी मेला प्रदर्शनी हुने भएको हो ।
निर्देशनालयले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीबारे जानकारी दिएको छ । विभिन्न निकायको प्रयासबाट प्रदेशको कृषि,पशुपन्छी र मत्स्य विकासको क्षेत्रमा भएको प्रगतिको एउटा झल्को प्रर्दशन गर्ने,कृषि क्षेत्रको विकासमा हाल प्रचलित नवीन प्रविधिहरूको प्रर्दशनी, बिषय विशेषज्ञ संगको अन्तरक्रिया मार्फत थप जानकारी उपलब्ध गराउने उदेश्यले मेला प्रदर्शनी गर्न लागिएको कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
प्रदर्शनीमा एकै थलोमा कृषक, कृषि समूहरसहकारी, कृषि व्यवसायी र उद्योगीहरूका प्रतिनीधि तथा सहयोग पुर्याउने सरकारी एवं गैरसरकारी निकायका प्रतिनीधिहरूलाई उपस्थित गराएर समन्वय र सहकार्यलाई बढावा दिइने उनले बताए । प्रदर्शनीमा विभिन्न प्रकारका १ सय ५० वटा स्टल रहने उनले बताए ।सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका करिब चार हजार पाँच सय अगुवा कृषकहरु र एक लाख ५० हजार बढी आम उपभोक्ताले मेला प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महानिर्देशक शर्माले बताए ।
उनले मेला प्रदर्शनीमा एक करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए । प्रदर्शनी धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सव स्थलमा आयोजना गरिने तथा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ । मेला प्रदर्शनीमा प्रदेशका ९ वटै जिल्लामा उत्पादित कृषि, पशुपन्छी र मत्स्यजन्य बाली-वस्तुहरू रैथाने,स्थानीय समेतको अवलोकन गर्न पाउनुका साथै खरिद तथा बिक्री पनि गर्न सकिने जनाइएको छ ।
यस्तै, मेलामा प्रदेशका विभिन्न समुदायमा प्रचलित महत्वपूर्ण रैथानेरस्थानिय नृत्य एवं गीतहरूको आनन्द लिन पाइनुका साथै स्थानीय रैथाने विभिन्न परिकारको स्वाद लिन पाइने आयोजकले जनाएको छ । मेला प्रदर्शनीमा कृषि क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण योगदान दिने प्रदेशका उत्कृष्ट कृषकहरूलाई पुरस्कार एवं सम्मान प्रदान गरिने छ ।
