Agni Offset Press

चुरेमा गुठी संस्थाको जमिनमाथि चलखेल

वडा अध्यक्षले सिफारिस नदिँदा रोकीयो दर्ता प्रक्रिया

Aarati simant
अत्तरिया, २ फागुन : कैलालीको चुरे गाउँपालिकामा गुठी संस्थाको जमिन माथि चलखेल भएको पाइएको छ । चुरे गाउँपालिका वडा नम्बर ५ देउराली मसानी देउताको गुठी जग्गा माथि चलखेल भएको हो । सरकारले गुठीका नाममा रहेको जमिन अभिलेख राख्न निर्देशन दिएपछि संरक्षण गर्दै आएकाहरुले अभिलेख राख्न खोज्दा वडा कार्यालय नै अवरोध सिर्जना गरेको आरोप छ । भूमि सुधार तथा मालपोत कार्यालयले धेरै बर्ष देखि गुठी लगायत विभिन्न व्यक्तिहरुका नाममा रहेको जमिनको नाप नक्सा भएको तर, दर्ता नभएकाहरुलाई जग्गा दर्ता गर्न पटक–पटक सुचना जारी गर्दै आएको छ । नापीमा पुर्जा सुरक्षित हुँदा पनि वडाले सिफारिस दिन नसकेको स्थानीयहरुको भनाई रहेको छ
पछिल्लो समय भूमि सुधार तथा मालपोत कार्यालयले २०८० माघ २५ गते सुचना जारी गरेको थियो । दुई बर्ष भित्र दर्ता गर्न उक्त सुचनामा उल्लेख गरेको छ । मसानी देउताको जमिन संरक्षण गर्दै आएकाहरुले जमिन दर्ता गर्न खोज्दा सिफारिसमा हलो अड्कीएको स्थानीयहरुको भनाई रहेको छ ।   वडा नम्बर ५ का समुदायहरु गुठीको संरक्षणमा जुट्दै आएका छन् ।
मालपोत कार्यालयमा दर्ताका लागि आवश्यक प्रक्रिय पुरा गर्नका लागि स्थानीयहरुले वडाबाट सिफारिस माग्दा वडा अध्यक्ष विरबहादुर धामीले अनेक वहानावाजी मात्र गर्ने गरेको स्थानीयहरुको आरोप छ । भिमदत्त राजमार्गमा जोडिएको मसानी देउता गुठीको जमिन हिनामिना गर्न खोजेको स्थानीयहरुले बताउने गरेका छन् । भिमदत्त राजमार्गको पश्चिमतिर गुठीको जमिन रहेको छ ।
यहि माघ १० गते स्थानीय युवा विकास रोकामगरले वडालाई सिफारिसका लागि निवेदन दिँदा वडा अध्यक्ष नदिएको आरोप लागेको हो । चुरे गाउँपालिका वडा नम्बर ५ देउरालीमा मसानी देउताको गुठी जग्गा वि.स १९९८ सालमा छुट्याएकोमा सर्वे नापी २०३८–१२–१ मा मसानी देउताकै नाममा नक्सा फिल्ड बुक कायम भई आएको निवेदनमा उल्लेख गरेको छ । गुठीको ८ रोपीनी भन्दा बढी जमिन रहेको छ ।
रोकामगरले वडालाई सिफारिसका लागि दिएको निवेदनमा नक्सा फिल्ड बुक पनि पेश गरेका छन् । अहिले मात्र होइन यस अघि वडा अध्यक्ष नरबहादुर तामाङ  भएको वेला पनि सिफारिस माग्दा रोकेको पाईन्छ । २०७९ साल फागुन २८ गते पनि गुठीका अध्यक्षले वडालाई जिल्ला प्रशासनमा विधान दर्ताका लागि सिफारिस माग्न खोज्दा पनि त्यति वेला पनि रोकेको पाईन्छ । ‘संस्थाको विधान दर्ताका लागि वडा सिफारिसका लागि अनुरोध गरिएको छ ।’ मसानी गुठी संस्थाका अध्यक्ष चक्रबहादुर रोकाले दिएको निवेदनमा उल्लेख गरेको छ ।
वडा अध्यक्ष विरबहादुर धामीले गुठीको जमिनमा आफ्नो कुनै स्वार्थ नरहेको बताएका छन् । ‘गुठीका नाममा रहेको जमिन गुठीकै हुने हो’, उनले भने । ‘गुठी संस्थान समिति र पुर्व वडा अध्यक्ष नरबहादुर तामाङ दुवैको निवेदन आएको हुँदा छलफल गरेर आउनुहोस् भनेको हो । सिफारिस रोकीएको होइन ।’ उनले गुठीको जमिन कसैले पनि तलमाथि गर्न नसक्ने उल्लेख गरे ।
Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.