
अत्तरिया : कैलालीमा नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालमा दुई जिल्ला कमिटी बनेका छन् । राष्ट्रिय युवा संघको केन्द्रले अनन्त बोहोरा अध्यक्ष रहनेगरि पाँच जना पदाधिकारी तोकेर पठाएको थियो ।
बोहोराको अध्यक्षता दिपेश (डेबिड) खड्का उपाध्यक्ष, छत्र बुढा सचिव, दिनेश कुमाल सहसचिव र अपेक्षा रोकायालाई तोकिएको छ । उक्त पत्रमा संघको विधान बमोजिम १५ दिनभित्र सदस्यहरु मनोनित गरि कमिटीलाई पूर्णता दिन भनिएको छ ।
तर, केन्द्रले तोकेका पदाधिकारीले निर्देशनअनुसार कमिटीलाई पूर्णता दिन नपाउँदै राष्ट्रिय युवा संघ कैलालीमा विद्रोह भएको छ । तर, केन्द्रले उपाध्यक्ष तोकेर पठाएका डेबिड खड्का र सचिव तोकिएका छत्र बुढाले भने पद अस्वीकार गरेको भन्दै पत्र नै पठाएका छन् ।
केन्द्रले उपाध्यक्ष तोकेर पठाएका दिपेश (डेबिट) खड्काको अध्यक्षतामा बुधबार बसेको युवाहरुको भेलाले अर्को कमिटी घोषणा गरेको छ । युवा संघका जिल्ला इन्चार्ज उमेश तुलाचनले केन्द्रीय कमिटीलाई पठाएको पत्रअनुसार अध्यक्षमा हेमन्त साउद, उपाध्यक्ष हिमान्सु शाह, सचिव उत्तम महरा, सहसचिव छत्र गुरुङ र कोषाध्यक्ष सरिता जैशीलाई बनाएको छ । साउदको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको भन्दै तुलाचनले केन्द्रीय कमिटीलाई पत्र पठाएका छन् ।
विवाद भएको अवस्थामा केन्द्रले अधिवेशन गर्ने संयोजक र सहसंयोजक तोक्ने परिपाटी भएपनि कमिटी नै गठन गरेकाले विद्रोह गर्नुपरेको इन्चार्ज तुलाचन बताउँछन् । साविकको कमिटीमा सचिव रहेका अनन्त बोहोरालाई अध्यक्ष र उपाध्यक्ष रहेका डेबिट खड्कालाई उपाध्यक्ष बनाएर विधी मिचिएको आरोप समेत उनको छ ।
‘केन्द्रले विवाद भएको अवस्थामा अधिवेशन गर्नेगरि संयोजक, सहसंयोजक तोक्ने कुरा विधीसम्मत हुन्छ तर सिंधै कमिटी नै घोषणा गर्ने कुरा न्यायोचित होइन,’ तुलाचनले भने, ‘अर्को सोही कमिटीको सचिवलाई अध्यक्ष र उपाध्यक्षलाई उसको मुनी राख्ने कुरा विधीसम्मत हो ? त्यसकै विरोधमा हामीले अर्को कमिटी घोषणा गरेका हौँ ।’ राष्ट्रिय युवा संघका तत्कालीन जिल्ला अध्यक्ष लक्ष्मण थापाले पदबाट राजीनामा दिएर पार्टीको टीकापुर नगर अध्यक्षमा चुनाव लडेका थिए । त्यसपछि डेढ वर्षमै युवा संघ कैलालीको अर्ली अधिवेशन गत असोज १३ र १४ गते टीकापुरमा आयोजना गरिएको थियो ।
युवा संघका केन्द्रीय नेता समेत सहभागी अधिवेशनमा विवाद सिर्जना भएपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन । अहिले केन्द्रले नै पदाधिकारी तोकेर पठाएपछि विवाद थप बढेको देखिएको छ । राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य तथा पार्टीबाट कैलाली इन्चार्जको जिम्मेवारी पाएका गणेश महरा भने संगठनको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताउँछन् ।
महराले संगठनको केन्द्रले तोकेको कार्य समिती नै आधिकारीक भएको बताए । ‘संगठनको केन्द्रले तोकेको कमिटी नै आधिकारीक हो । संगठनले गरेको निर्णय सबैले स्वीकार्नुपर्छ । नस्वीकार्नेलाई कारवाही गर्नुपर्छ,’ महराले भने ।
राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विनय शाह भने कैलालीमा पार्टीमा देखिएको गुटगत राजनीतिको प्रभावको असर युवा संघमा पनि देखिएको बताउँछन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालको नाम गलत रूपमा जोडेर पार्टीकै नेताको दबाबमा केन्द्रबाट कमिटी घोषणा गर्ने गलत अभ्यास भएको दाबी गरे ।
‘कैलालीमा भइरहेको क्षेत्रीय र जातीय राजनीतिको असर युवा संघमा पनि देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको नामको दुरुपयोग गरि गुटगत रूपमा संगठनका नेतालाई दबाब दिएर कमिटी घोषणा गर्न लगाइयो,’ शाहले भने, ‘कार्यकर्ताको भावना विपरीत कमिटी घोषणा गरिएको छ । यसको समाधान खोजिनुपर्छ ।’ शाहले सचिवलाई अध्यक्ष र उनको उपाध्यक्षलाई उपाध्यक्ष नै बनाउने कुरा विधीसम्मत नभएको बताउँदै दुवै पक्षलाई एकताबद्ध गरेर नयाँ कमिटी गठन गर्नुपर्ने बताए ।
