अत्तरिया, ३ फागुन : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा रहेको दृष्टि पाठशालाले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
दृष्टि पाठशालाका अध्यक्ष डा.जनकराज पन्तको सभापतित्व आयोजित वार्षिकोत्सव समारोहको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् ।
समारोहमा प्रमुख अतिथि शाहले मुलुकको समृद्धि र विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताए । उनले मुलुकमा आएको परिवर्तनलाई सार्थक बनाउन निजी संस्थाहरूलाई विभिन्न क्षेत्रमा सक्रिय रूपमा संलग्न गराइएको उल्लेख गरे । यसले सुदूरपश्चिमकै विकास कार्यलाई निरन्तरता दिने वातावरण निर्माण भएको उनको भनाइ छ ।
मुख्यमन्त्री शाहले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई विशेष रूपमा प्रशंसा गर्दै भने, अहिलेका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजी शिक्षण संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।’ साथै, प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि निजी र अन्य संघसंस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिमा योगदान पु¥याउने विश्वास मुख्यमन्त्री शाहले व्यक्त गरे । यस्तै पाठशालाका अध्यक्ष जनकराज पन्तले यस क्षेत्रमा विद्यालयमा लगानी गर्नुको उद्देश्य विद्यार्थीहरुले गाउँ ठाउँमा सहरको विद्यालय जस्तै गाउँका विद्यार्थीहरुपनि शहरमा भएको विद्यालय जस्तै उचित शिक्षा हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको बताए । उनले पहिले न्यू जीनियस एकेडेमी रहेको विद्यालयमा १ वर्ष अघि गाउँमा भएका विद्यार्थीले पनि सस्तो र सुलभमा उचित शिक्षा हासिल गर्ने उद्देश्यले नयाँ व्यवस्थापनका साथ नयाँ नामाकरण गरी दृष्टि पाठशाला राखेर सञ्चालन गरिएको बताए । विभिन्न चुनौतीहरुलाई पार गर्दै गुणस्तर शिक्षा प्रदान गर्दै विद्यालय सञ्चालन गरिएको साथै आगामी वर्ष देखि कक्षा १० सम्म संचालन गर्ने तयारी रहेको उनले बताए ।
वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा खेलाउदै आइरहेको खेल लगायत अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यस क्षेत्रमा उच्च शिक्षा प्रदान गर्दै आइरहेको उक्त पाठशालामा कक्षा नर्सरी देखि ८ कक्षा सम्म पठन पाठन हुँदै आइरहेको र ४ सय विद्यार्थीहरु अध्यनरत छन् ।
पाठशालाका सह–प्रधानाध्यापक गणेशराज पन्तले स्वागत मन्तव्य व्यक्त गरेका समारोह कार्यक्रमको सञ्चालन शिक्षक नारायण उपाध्याय गरेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि कृष्णपुर नगरपालिका नगर उप प्रमुख द्रोपती राना, वडा नं ७ का वडा अध्यक्ष घुम्मन राना, वडा नं ८ का वडा अध्यक्ष दिनेश खड्का लगायत समाज सेवी, बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थिए ।