
अत्तरिया, ३ फागुन : नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनबाट गणेश पनेरु केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् । कर्मनिष्ठ, इमानदार तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित पनेरु लामो समयदेखि कर्मचारीहरूको हक, अधिकार र संस्थागत सुधारका लागि सक्रिय छन् ।
विभिन्न कालखण्डमा उनले संगठन, राजनीति तथा सामाजिक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यही योगदान र सक्रियताका कारण उनले निजामती कर्मचारी संगठनको केन्द्रिय नेतृत्वमा स्थान बनाउन सफल भएका हुन् ।
हाल गोदावरी नगरपालिकामा कार्यरत पनेरुले कर्मचारी समस्याहरूको समाधान र समग्र विकासमा विशेष चासो राख्दै आएका छन् । संगठनभित्र सशक्त आवाज उठाउँदै, उनले कर्मचारी हकहितका सवालमा स्पष्ट धारणा राख्ने नेता भनेर चिनिन्छन् ।
निर्वाचित भएपछि विभिन्न राजनीतिक, सामाजिक तथा कर्मचारी संगठनका व्यक्तित्वहरूले उनलाई शुभकामना व्यक्त गरेका छन् । उनले संगठनलाई थप सुदृढ बनाउने, कर्मचारीहरूको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘म जहिले पनि कर्मचारी हितका लागि आवाज उठाउने छु । संगठनलाई व्यवस्थित, सक्षम र सशक्त बनाउन नयाँ रणनीतिसहित अघि बढ्नेछु, पनेरुले भने ।
उनले आफूलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा अझ समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनको नेतृत्वलाई संगठनभित्र सुधार, सशक्त नेतृत्व र कर्मचारी हितमा ठोस कदम चाल्ने अवसरका रूपमा हेरिएको छ ।
