
धनगढी : कैलालीस्थित धनगढीको फूलबारीमा गौशालाको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माण गरिएको गौशालाको उद्घाटन गरिएको हो।
एक करोड २० लाख बढीमा निर्माण गरिएका गौशालाका संरचनाहरू प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतवार उद्घाटन गरेका हुन। धनगढी उपमहानगरपालिका–१६ रामपुर र १८ फूलबारीमा गौशाला निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिकाको एक करोड २० लाख ९ हजार ६ सय ५५ रुपैयाँ आन्तरिक स्रोतबाट फूलबारीमा गौशाला निर्माणको काम भएको हो। फूलबारीमा गौशालाको २ वटा ट्रस निर्माणको काम उपभोक्ता समितिले गरेको छ। ६० लाख ८९ हजार पाँच सय ९६ रुपैयाँमा २ वटा ट्रस निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले ४९ लाख ९१ हजार नौ सय ९१ रुपैयाँ भुक्तानी दिएको छ।
फूलबारी गौशालामा घेरबार र गार्ड घर निर्माणको काम आरएस कन्स्ट्रक्सन, धनगढीले २८ लाख ८५ हजार सात सय ६७ रुपैयाँमा गरेको हो। २०८० असोज १० गते आरएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो। बोरिङ्ग र स्टोर हाउसको काम ४१ लाख ५४ हजार नौ सय ८६ मा आरआर निर्माण सेवा, धनगढी र शौचालय निर्माणको काम आरएस कन्स्ट्रक्सन, धनगढीले एक लाख ४४ हजार ५ सय ४५ रुपैयाँमा गरेको हो।
सामुदायिक पशुका कारण दुर्घटना हुने र किसानको खेतीबारीमा नोक्सानी हुन थालेपछि उपमहानगरपालिकाले व्यवस्थापन गर्न गौशाला निर्माण गरेको छ। कलस्टर (क्षेत्र) अनुसार व्यवस्थित गौशाला निर्माण गरिएका हुन। धनगढीमा वडा नम्बर १६ र वडा नम्बर १८ मा गौशाला पहिलो चरणमा निर्माणको काम थालिएको थियो। धनगढी उपमहानगरपालिकाको कलस्टर अनुसार चार वटा गौशाला निर्माण गर्ने योजना छ। वडा नम्बर १६ र १८ मा काम भएको छ। वडा नम्बर ३ मा एक गौशाला पहिलेै निर्माण गरिएको छ। दक्षिण र उत्तर क्षेत्रमा गौशाला निर्माणका लागि जग्गाको व्यवस्था भएको छैन्। उपमहानगरपालिकाले एक सय ५० सामुदायिक पशुको एक गौशालामा व्यवस्थापन गर्ने लक्ष्य छ। गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले संस्थाहरूसँग सम्झौता गर्नेछ। धनगढीका अन्य दुई स्थानमा पनि उपमहानगरपालिकाले गौशाला निर्माण गर्नेछ। तर, जग्गाको अभाव भएको उपमहानगरपालिकाले बताएको छ।
भारतको कानपुरको प्रविधि अनुसार धनगढीका पशुको व्यवस्थापन गर्न थालिएको हो। धनगढीको वडा नम्बर ३ एक संस्था र वडा नम्बर ७ मा उपमहानगरपालिकाले गौशाला सञ्चालन गर्दै आएको छ। वडा नम्बर ७ को गौशाला देवरीया वनस्पति उद्यानमा छ।
जग्गाको भोगाधिकार नलिएकाले वडा नम्बर ७ को गौशाला विवादीत छ। धनगढी उपमहानगरपालिकाले कलस्टर अनुसार थप गौशाला निर्माण गर्दै छ। वडा नम्बर ६, ११ र १३ का लागि एक, वडा नम्बर ९, १० र १२ का लागि अर्को गौशाला निर्माण गर्ने योजना उपमहानगरपालिकाको छ।
