अत्तरिया : गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । उक्त केन्द्र यही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
अपरेसन इन्चार्ज हेमप्रसाद आचार्यले गोदावरी नगरपालिकासँग समन्वय गरी अनुमति प्राप्त हुनेबित्तिकै केन्द्र सञ्चालनमा ल्याइने जानकारी दिए ।
एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीको संयोजनमा केन्द्रको निर्माण गरिएको हो । यसको कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ रहेको यस परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण अनुदानबाट र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट पूरा गरिएको छ ।
केन्द्र निर्माणको ठेक्का चिनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।
अपरेसन इन्चार्ज आचार्यका अनुसार, केन्द्रमा संकलित फोहोरलाई वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिनेछ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै केन्द्रमा ४० जना भन्दा बढी स्थानीयलाई योग्यता अनुसार रोजगारी प्रदान गरिने छ । परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीय आर्थिक गतिविधिमा टेवा पु¥याउने विश्वास गरिएको छ । परियोजना सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा हुनेबित्तिकै फोहोर व्यवस्थापन सेवा औपचारिक रूपमा सुरु गरिने जनाइएको छ ।
नगरपालिकाको फोहोर व्यवस्थापन सुपरभाइजर प्रमल महराका अनुसार गोदावरी नगरपालिका क्षेत्रबाट अहिले दैनिक करिब साढे ६ टन फोहोरमैला संकलन हुने गरेको छ ।
नगरका १२ वटा वडामध्ये नौ वटा वडाबाट मातृभूमि संरक्षण प्रालिले दैनिक र साप्ताहिक रूपमा फोहोर संकलन गर्ने गरेको छ । हाल संकलित फोहोरलाई मालाखेती सामुदायिक वनभित्र गोदावरी नदीले कटान गरेको क्षेत्रमा व्यवस्थापन गर्ने गरिएको सुपरभाइजर महराले बताए ।
फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोतसमेत बन्ने महराको भनाई छ । कुहिने फोहोर तथा दिसाजन्य वस्तुबाट मलखाद उत्पादन गरिनेछ । संकलित फोहोरमैलाबाट अहिले पनि कम्पनीले केहि मात्रामा आम्दानी गर्ने गरेको छ । गोदावरी नगरको केन्द्र अत्तरियामा फोहोर व्यवस्थापन नभएको भन्दै आलोचना हुने गरेको छ ।
सम्बन्धित पाेस्टहरु