
अत्तरिया, ६ फागुन : कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा कैलाली प्रिमियर लिग २०८१ भोली (बुधबार) देखि सुरु हुने भएको छ । कैलाली प्रिमियर लिग २०८१ तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको र फागुन ७ गतेदेखि १४ गतेसम्म फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
यस क्रिकेट प्रतियोगिताले सुदूरपश्चिमका युवाहरूलाई क्रिकेट खेलमा प्रोत्साहित गर्दै विभिन्न पालिकामा रहेका नवप्रतिभा वान खेलाडीहरूलाई स्थान दिने आयोजकको ठम्याइ छ । साथै यस क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले विगतदेखि उक्त प्रतियोगिता गर्दै आएको कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम बिष्टले बताए । उक्त प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बाजुराका स्थानीय तहबाट १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद पुरस्कार २ लाख, उपविजेतालाई १ लाख, प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यानलाई १५ हजार, नवप्रतिभावान खेलाडीलाई १० हजार, प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय सँगै ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उक्त प्रतियोगिता सञ्चालन गर्न झन्डै २५ लाख लागत लाग्ने आयोजकले जानकारी दिए ।
कैलाली प्रिमियर लिगको तेस्रो संस्करणको मुख्य प्रायोजकमा सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) रहेको छ ।
