
अत्तरिया : कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगितामा बागमति प्रदेश सेमिफाईनल प्रवेश गरेको छ ।
गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो दिन भएको खेलमा बागमति प्रदेश सानदार जित सहित अन्तिम चारमा पुगेको हो । गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा भएको प्रतियोगिताको शुक्रबार भएको खेलमा बागमति प्रदेशले गण्डकी प्रदेशलाई ३–१ ले हराएको हो ।
बागमति प्रदेशका लागि सानु तामाङले खेलको दुई गोल गरे । खेलको ४४ औं मिनेटमा पहिलो गोल गरेका सानुले ५१ औं मिनेटमा दोस्रो गोल गरे । बागमतिका लागि मिशान लामाले खेलको ८८ औं मिनेटमा एक गोल गरे । गण्डकी प्रदेशका लागि मिशान थापा मगरले एक गोल फर्काए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमतिका मिशान थापा म्यान अफ द म्याच भए । उनले पाँच हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्त्र्गत भोली अन्तिम क्वाटरफाईनल खेल हुनेछ । जसमा कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।
