माओवादी अध्यक्ष प्रचण्ड आज टीकापुर आउँदै

अत्तरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल आज टीकापुर आउने भएका हुन ।
टीकापुर भानु चोक स्थित खुला मैदानमा हुने राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने छन् ।
थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले उपत्यका विशेष जिल्लाबाट समेत सम्मेलनमा प्रतिनिधि सहभागी हुने बताएका छन् । ‘सम्मेलनकि सबै तयारी पूरा भएको छ ।, उनले भने, ‘आज मध्याह्न १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ ।” सम्मेलनको उद्घाटन सत्रमा थारु समुदायका पौराणिक कला, सामग्री प्रयोग गरेर थारु कला, संस्कृति झल्कने मञ्च निर्माण गरिने उनले बताए । उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, रानाथारु तथा कठरिया थारु समुदायको गित, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।
उद्घाटन समारोहमा कैलाली, कञ्चनपुर र बर्दियाबाट जनहभागिता पनि गराउने तयारी छ । उद्घाटनमा करिब १८ हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
‘टीकापुर घटनापछि थारु सेन्टिमेन्ट नैराश्यता छ । माओवादीले थारुका मुद्दा छोड्यो की भन्ने पनि कतिपयलाई परेको छ ।” अध्यक्ष चौधरीले भने, ‘त्यसलाई चिर्न पनि थारु समुदायको बाहुल्यता भएको क्षेत्र टीकापुरमा राष्ट्रिय सम्मेलन गर्न लागेका हौँ ।’ सम्मेलनको उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्डसँगै महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरीराजमणी पोखरेललगायत नेताहरु सहभागी हुने मोर्चाले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.