कृष्णपुर नगरमा ‘नागरिक संग मेयर’ स्वस्थ्य कार्यक्रमको शुभारभ्भ

अत्तरिया : कञ्चपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिक संग मेयर’ स्वस्थ्य कार्यक्रमको शुभारभ्भ गरिएको छ । आर्थिक बर्ष ०८१\०८२ अन्तर्गत मंगलबार देखि सञ्चालन भएको नसर्ने रोगको पहिचान अभियानको
नगर प्रमुख हेमराज ओझालेले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख ओझाले ‘नागरिक संग मेयर’ कार्यक्रम मार्फत नगरवासीलाई स्वास्थ्य सेवा निरन्तर रूपमा प्रदान गरिरहेको बताए । उनले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै घर–घरमै स्वास्थ्यकर्मी पठाएर निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको बताए । उनले यस वर्ष पनि प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य अभियान शुभारम्भ बताए ।
नगर प्रमुख ओझाले गरिविको रेखामुनि रहेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच कम हुने, आर्थिक अभाव तथा जनचेतनाको कमीका कारण स्वास्थ्य समस्या झन् जटिल बन्ने गरेको उल्लेख गर्दै यसलाई ध्यानमा राखी स्थानीय सरकारको पहलमा ‘नागरिक संग मेयर’ कार्यक्रम सञ्चालन गरिएको बताए । नगरपालिकाले स्वास्थ्य सेवा सबै नागरिक सम्म सहज र गुणस्तरीय रूपमा पु¥याउने लक्ष्य राखिएको बताए । उनले कृष्णपुर स्वास्थ्य चौकी मार्फत ल्याब टेस्ट, निःशुल्क औषधि वितरण, तथा नियमित स्वास्थ्य परीक्षण सेवा प्रदान गरिँदै आएको बताए । साथै, गम्भीर बिरामीहरूलाई सुविधायुक्त अस्पतालमा रिफर गर्ने व्यवस्था गरिएको बताए ।
घर–घरमा स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविरको आयोजना
नगरपालिकाले घर–घरमै स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी खटाइरहेको छ । साथै, गाउँ–गाउँमा जटिल स्वास्थ्य समस्या देखिएमा विशेष स्वास्थ्य शिविर सञ्चालन गरी उपचार सेवा प्रदान गरिने नगर प्रमुख ओझाले जानकारी दिए ।
नगरले स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु¥याएपछि २०७९ साल देखि सञ्चालन गरिएकोमा २ वर्ष अवधिमा ६० हजारभन्दा बढी नागरिक यस कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । यसले नागरिकहरूमा स्वास्थ्यप्रति सचेतना बढाएको र सकारात्मक प्रभाव पारेको ओझाले बताए । नगरपालिकाले नसर्ने रोगहरूलाई प्राथमिकतामा राख्दै रोकथाम तथा उपचार सेवा प्रदान गरिरहेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा नगरपालिकाका जनप्रतिनिधिहरू निरन्तर क्रियाशील रहेको उनले जानकारी दिए । नगर प्रमुख ओझाले स्वास्थ्य क्षेत्रमा प्रभावकारी सुधार ल्याउन आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताए ।
यस्तै कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले रोगको सुरुमै जाँच गराउन आवश्यक रहेको बताउँदै, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी नगरपालिकाले नागरिकको स्वास्थ्य सुधारका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरिन् । नगरपालिकाले समयमै रोग पहिचान गरी आवश्यक उपचार प्राप्त गर्न सक्ने वातावरण बनाउन पहल गरिरहेको उनले जानकारी दिइन् ।
उपप्रमुख रानाले स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नियमित स्वास्थ्य परीक्षणलाई प्रवद्र्धन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । नागरिकहरूले समयमा नै स्वास्थ्य परीक्षण गरी आवश्यक परेमा उचित उपचार गराउन सकून् भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनले स्पष्ट पारिन् । स्थानीय सरकारको निरन्तर प्रयासले नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने विश्वास व्यक्त गर्दै, समयमै रोग पहिचान गर्न सकेमा गम्भीर स्वास्थ्य समस्या रोकथाम गर्न सकिने बताइन् । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी बनाइने उपप्रमुख रानाले उल्लेख गरिन् । कृष्णपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन बस्नेतले नगरपालिकाले प्रत्येक वडाका नागरिकको घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने योजना यस वर्ष पनि अघि बढाएको बताए । नगरपालिकाले सर्ने र नसर्ने रोगसम्बन्धी सचेतना बढाउन स्वास्थ्यकर्मीको टोलीमार्फत अभिमुखीकरण तालिम सञ्चालन गरिएको साथै यस तालिमले नागरिकलाई रोगको पहिचान, रोकथाम, र उपचार प्रक्रियाबारे विस्तृत गराउने विश्वास रहेको बताए । यस पहलबाट स्थानीय नागरिकलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । उनले नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिँदै स्वास्थ्य सेवा घर–घरमै उपलब्ध गराएको बताए ।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले कृष्णपुर नगरपालिकाले नागरिकसँग मेयर कार्यक्रमअन्तर्गत नसर्ने रोग पहिचानका लागि एक–महीने स्वास्थ्य अभियान सञ्चालन गरिएको बताए । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै समयमै रोगको पहिचान, रोकथाम र उपचारलाई प्रवद्र्धन गर्न यो आर्थिक वर्ष २०८१\०८२ मा नगरपालिकाले आफ्नै बजेटबाट तेस्रो पटक अभियान अघि सारेको बताए ।
स्वास्थ्यकर्मी टोली नगरपालिकाका सबै वडाका घर–घर पुगेर मधुमेह, मृगौला रोग, रक्तचाप, र बीएमआई मापन लगायतका परीक्षण गरिरहेको छ । ७० हजारभन्दा बढी नागरिकलाई सेवा दिने लक्ष्य राखिएको छ, जसमा विशेषगरी ३० वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ ।
नगरको स्वास्थ्य संस्थाहरुबाट २४–घण्टा आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स, प्रयोगशाला, रगत सेवा, तथा विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । संघीय सरकारको निर्देशन अनुसार सञ्चालन गरिएको यस अभियानले नागरिकहरूको स्वास्थ्य जाँच तथा दीर्घकालीन रोगको रोकथाममा योगदान गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.