कांग्रेस गोदावरी नगरसमितिद्वारा विपन्न परिवारलाई सहयोग

अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले वडा नम्बर ११ र १२ मा आयोजना गरिएको अन्तरक्रिया तथा चियापन कार्यक्रममा विपन्न परिवारलाई सहयोग गरेको छ ।
५५ वर्षीया एकल महिला सुना भारतीको घर भत्किएर बस्न कठिन भएपछि नगर कार्यसमितिले उनलाई कम्बल, डस्ना, पलङ वितरण गर्नुका साथै घर मर्मतका लागि कर्कटपाताका लागि नगद सहयोग गरेको सचिव योगेश भट्टले बताए ।
‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस छ’ भन्ने नारासहित विपन्नलाई सहयोग कार्यक्रममा नेपाली कांग्रेसले समाजमा आर्थिक अभावका कारण कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीका नेताहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न वर्गलाई राहत प्रदान गर्नु आफ्नो प्राथमिकता भएको बताए ।
कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा संघीय सांसद वीरबहादुर बलायर, प्रदेश सांसद तथा अर्थराज्य मन्त्री प्रकाश बम, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, नगर सभापति वीरबहादुर चोखाल, नेता सुरत कार्की, युवा नेता लोकराज पाण्डे ‘आगो’ सहित अन्य पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा पार्टी नेताहरूले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नगरपालिकाका विभिन्न नीतिहरूको प्रभावकारिता बारे छलफल गरेका थिए । नगर प्रमुख बिरेन्द्र भट्टले स्थानीय तहको विकासका लागि जनतासँगको सहकार्य आवश्यक रहेको बताउँदै सबैले व्यक्तिगत स्वार्थ त्यागेर समाज परिवर्तनको माग राख्नुपर्नेमा जोड दिए । उनले विद्यालय समायोजन तथा नगर शिक्षक व्यवस्थापनका क्षेत्रमा भएको सुधारबारे जानकारी गराएका थिए । संघीय सांसद वीर बहादुर बलायरले कांग्रेसको नीति जनतासँग प्रत्यक्ष रूपमा जोडिनु पर्ने भन्दै आगामी दिनमा यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताए । प्रदेश सांसद प्रकाश बमले स्थानीय विकासका लागि राज्यको भूमिका र बजेट व्यवस्थापनका विषयमा प्रकाश पार्दै आगामी दिनमा विपन्न वर्गलाई लक्षित गरी थप कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।
कार्यक्रममा स्थानीय बासिन्दाले नगरपालिकाको सेवा प्रवाह, पूर्वाधार विकास तथा अन्य सामाजिक विषयमा आफ्ना सुझाव राखेका थिए । जनप्रतिनिधिहरूले सुझावलाई गम्भीर रूपमा लिइने र आगामी नीतिहरूमा समेटिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमले नगरवासी, नेताहरू र जनप्रतिनिधिहरूबीच प्रत्यक्ष संवादको अवसर जुटाएको थियो । कांग्रेसले आगामी दिनमा पनि सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.