गोदावरी–८ बाट महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण सुरु

अत्तरिया, २४ फागुन : गोदावरी नगरपालिकाको साझेदारी, कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग, र सैपाल युवा क्लबको व्यवस्थापनमा सञ्चालित महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण परियोजना उद्घाटन गरिएको छ ।
गोदावरी नगरपालिका वडा नं ८ स्थित खेलमैदानमा आयोजित सो कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भट्ट तथा विशिष्ट अतिथि वडा नं ८ का अध्यक्ष गोविन्द चौधरी, जिल्ला खेलकुद विकास समिति पदाधिकारी, विभिन्न खेल संघका प्रतिनिधिहरू तथा खेलाडीहरू उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले बालबालिका तथा युवाहरू पछिल्लो समय मोबाइलको लत र दुव्र्यसनमा फस्दै गएकाले खेलकुदलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । खेलकुदले अनुशासन, आत्मविश्वास, र मानसिक सुदृढता प्रदान गर्ने उल्लेख गर्दै उनले नगरपालिकाले खेल पूर्वाधार र प्रशिक्षण कार्यक्रमहरूमा लगानी बढाइरहेको बताए ।
उनले गोदावरी नगरपालिका वडा नं ३ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग स्थलगत अनुगमन सम्पन्न भएको बताए । फुटबल र क्रिकेट मात्र नभई अन्य खेलहरूलाई पनि प्रवद्र्धन गर्दै नगरपालिकाले नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको उनले जानकारी गराए ।
नगर प्रमुख भट्टका अनुसार, खेलकुदलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधार निर्माण, नियमित प्रशिक्षण, र खेलाडीहरूलाई अवसर प्रदान गर्ने योजना नगरपालिकाले अघि सारेको छ । उनले खेलकुद क्षेत्रको विकासमा स्थानीय निकाय, अभिभावक, तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
उनले खेलाडीहरूलाई आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन आग्रह गर्दै खेल क्षेत्रलाई पेशाको रूपमा अंगाल्न सकिने बताए । नगरपालिकाले निकट भविष्यमा थप खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको समेत उनले जानकारी गराए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.