अत्तरिया : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएका बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए । ओली आज नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयबाट १ हजार ३७७ जना दीक्षित भइरहेका छन् ।
प्रधानमन्त्री ओलीले आज नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभा गृहको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सहरी विकासका इन्जिनियर पुष्प भट्टले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरिने बताए ।
सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो । सहरी विकासले प्रधानमन्त्री ओलीमार्फत धनगढी उपमहानगरपालिकालाई सञ्चालनको लागि आइतवार सभा गृह हस्तान्तरण गर्दै छ । सभा गृह सञ्चालनका लागि आवश्यक फर्निचर लगायतका उपकरण जडान नभएको भन्दै उपमहानगरपालिकाले बुझ्न मानिरहेको थिएन ।
सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो ।
सम्बन्धित पाेस्टहरु