ऐश्वर्यमा नेविसंघको एजेण्डा २४ घण्टा विद्यार्थीको हितमा खटिने

अत्तरिया : ऐश्वर्यमा नेविसंघले आफ्ना उम्मेदवार सार्वजनिक गर्दै २४ घण्टा विद्यार्थीको हितमा खटिने बताएका छन् । नेविसंघका सभापति उम्मेदवार दीपक राज भट्टले विद्यार्थीको हितमा खटिने बताएका हुन् । उनले विशेष गरी बिबिएस अध्ययन गर्ने विद्यार्थीहरूका लागि इन्टर्नसिपको व्यवस्था गर्ने बताएका छन् । साथै, ऐश्वर्य क्याम्पसमा नेविसंघ विजयी भएमा हरेक वर्ष दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ ।

शिक्षाको गुणस्तर वृद्धिका लागि मल्टिमिडिया कक्षाको सुरुवात गर्ने, विज्ञान संकायका विद्यार्थीहरूका लागि होम सेन्टरको व्यवस्था गर्ने, रोबोटिक्स कक्षा सुरु गर्ने, कम्प्युटर तथा साइन्स ल्याबलाई थप व्यवस्थित बनाउने, खेलकुद सामग्री सहज रूपमा उपलब्ध गराउने जस्ता योजनाहरू नेविसंघले अघि सारेको छ ।
त्यस्तै, शिक्षामा भइरहेको भ्रष्टाचार र गुण्डागर्दी अन्त्य गर्ने, विभिन्न प्राकृतिक विपत्तिमा प्रभावितलाई सहयोग गर्ने तथा अनलाइन कक्षाको व्यवस्था गर्ने प्रतिबद्धता नेविसंघले जनाएको छ । सभापति भट्टले भने, “शिक्षा क्षेत्रमा रहेका विकृति हटाउँदै विद्यार्थीका लागि सहज र गुणस्तरीय शिक्षाको व्यवस्था गर्न नेविसंघ प्रतिबद्ध छ। हामीले घोषणा गरेका योजना कार्यान्वयन गर्नका लागि विद्यार्थीहरूको साथ आवश्यक छ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.