कञ्चनपुरका ६ क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक, ४ मा नेवि संघ र २ मा क्रान्तिकारीका उम्मेदवार विजयी
अत्तरिया : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो।
अन्तिम नतिजा अनुसार चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ भने दुई क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेका छन्।
विजयी उम्मेदवारहरू
जनता बहुमुखी क्याम्पस, पुनर्वास : नेविसंघका विकास खड्का प्यानलसहित विजयी।
रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी : नेविसंघका मोहन जैसी विजयी।
भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनी : नेविसंघका सुवास नेगी प्यानलसहित विजयी।
कञ्चन बहुमुखी क्याम्पस, गुलरिया : नेविसंघका सुनिल ऐर विजयी।
रामपुर बहुमुखी क्याम्पस, बेलौरी : अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित।
महाकाली बहुमुखी क्याम्पस, बेलौरी : अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित।
केही क्याम्पसहरूले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढाउन सकेनन् भने कतिपयमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका थिए। निर्वाचन सम्पन्न भएका क्याम्पसहरूमा मतगणना सकिएपछि आधिकारिक रूपमा विजयी उम्मेदवारहरूको घोषणा गरिएको क्याम्पस प्रशासनहरूले जनाएका छन्। निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।