दुर्गा लक्ष्मी नमूना माविको नवनिर्मित भवनको मेयर भट्ट द्वारा उद्घाटन

अत्तरिया, ११ चैत : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको १२ कोठे शैक्षिक नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
नेपाल सरकार नमूना विद्यालय अन्तर्गत १ करोड ८४ लाख बराबरको लागतमा नमुनाको रुपमा १२ कोठे शैक्षिक भवन निर्माण गरिएको हो । उद्घाटन समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले नयाँ भवनले अत्याधुनिक शैक्षिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गर्दै यसले शिक्षाको गुणस्तर सुधार्ने र प्राविधिक शिक्षालाई प्रवद्र्धन हुने विश्वास गरे ।
विशेष रूपमा, दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट १० विद्यालयमध्ये पर्न सफल भएको छ, जसलाई नगरपालिकाका लागि गर्वको विषय मानिएको उनले बताए । विद्यालयको सफलतामा शिक्षक, विद्यार्थी, अभिभावक, र बुद्धिजीवी वर्गको योगदान महत्वपूर्ण रहेको नगर प्रमुख भट्टले बताए ।
यस्तै विज्ञान विकास परियोजनामा यस विद्यालय समावेश भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले शैक्षिक गुणस्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै, नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिने बताए । त्यस्तै उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्दै भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरेको बताए । उनले नमूना विद्यालय योजना अन्तर्गत उद्घाटन गरिएको भवन १ करोड ८४ लाख ७४ हजार रुपैयाँ लागतमा १२ कोठे भवन निर्माण गरिएको बताए ।
उनले विद्यालय नमूना विद्यालय बनेसँगै भौतिक पूर्वाधारमा ठूलो सफलता प्राप्त भएको बताए । “देशभरका १२२ विद्यालयमध्ये दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय छनोट भएको हो,“ उनले भने । विद्यालयले नमूना विद्यालय योजनाअन्तर्गत सबैभन्दा उत्कृष्ट भौतिक संरचना निर्माण गर्दै विभिन्न भवनहरू निर्माण गरेको उनले जानकारी दिए ।
यस विद्यालयमा उद्घाटन गरिएको नवनिर्मित भवनमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण गर्ने योजना रहेको बताउँदै “प्रदेशका ९ वटै जिल्लाका विद्यालयहरूले उदाहरणीय नमूना रूपमा अवलोकन गर्न सक्ने विज्ञान प्रयोगशाला निर्माण गरिने भएको बताए । नयाँ भवनको २०८० असार ४ गते नगर प्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका थिए भने १९ महिनामा भवन निर्माण कार्य पूरा भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यार्थीहरूको शिक्षामा प्राथमिकता दिँदै थप अब्बल भवन नमूनाको रूपमा निर्माण भएको साथै विद्यालयले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न निरन्तर प्रतिबद्ध रहेको बताए । उनले विद्यालय नेपाल सरकारको नमूना गुरुयोजना अन्तर्गत भवन निर्माण भएको साथै “सम्पूर्ण टिमको प्रयासबाट मात्र शिक्षा लगायत विकासका कार्यहरू सम्पन्न हुने गर्छन् । यस विद्यालयमा त्यही एकता देखिएको छ ।
यस्तै अध्यक्ष शाहले विद्यालयले शिक्षा क्षेत्रको सुधार तथा भौतिक पूर्वाधार विकासमा निरन्तर जोड दिँदै आएको बताए । साथै, विद्यालयले यही चैत २७, २८ र २९ गते भव्य रूपमा स्वर्ण जयन्ती महोत्सव मनाउने तयारी गरेको जानकारी समेत दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.