
धनगढी, १२ चैत : शिक्षा सम्बन्धि कार्यशाला धनगढीमा सम्पन्न भएको छ । ‘निशुल्क, गुणस्तरिय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने मुल नाराका साथ प्रदेश स्तरिय कार्यायोजना तर्जुमा कार्यशाला सम्पन्न भएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसि नेपाल) को आयोजनामा भएको कार्यक्रममा कैलालीका विभिन्न शिक्षा सम्बद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले विद्यालय टिमको इच्छा शक्ति भएमा धेरै काम गर्न सकीन्ने बताए । केहि सामुदायिक विद्यालयले शिक्षामा राम्रो प्रगति गरेका छन्, त्यसको अनुशरण सबैले गर्नुपर्ने उनले सुझाए । सबैले सक्ने काम गरेमा शिक्षा सुधार गर्न सकीन्ने उनले बताए ।
विद्यालयले कम्तीमा पनि बर्षभरि गरेका कामको मात्र समीक्षा गर्न सकेमा पनि धेरै कुरामा सुधार हुने उनले जोड दिए । संघीयताले गर्दा शिक्षाका संरचना ध्वस्त भएको हुँदा काम गर्नमा केहि असहज भएको उनले बताए । विद्यालयका प्रधानाध्यापकहरुको प्रतिबद्धता भएमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए । त्यसका लागि विभिन्न संघसंस्थाहरुले समन्वय गर्नुपर्ने उनले उल्लेख गरे । यस्तै कार्यक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले शिक्षाको स्तर सुधार गर्नका लागि स्थानीय सरकार लागि परेको बताईन् । उनले विभिन्न संघ संस्थाले घच्यघच्याउने काम गरेको बताईन् । उनले पालिकाले विद्यालय अनुगमनलाई प्राथमिकता राखेको बताईन् ।
यस्तै भजनी नगरपालिकाको शिक्षा शाखामा कार्यरत सुर्यबहादुर सिंहले विद्यालयमा प्रशासनिक अनुगमन गर्ने गरेको बताए । शिक्षामा उपस्थिति सुनिश्चित गरेको उनले बताए । प्रधानाध्यापकहरुको बैठक महिनाको एक पटक बसाल्ने काम गर्ने गरेको उनले सुनाए ।
कार्यक्रमका सहभागिले विद्यालय शिक्षा कसरी प्रभावकारी र पहुँचयोग्य बनाउनका लागि छलफल तथा सुझाव दिएका थिए । अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका नन्दराज भट्टले विद्यालयमा अझै पनि सम्मान जनक भाषा प्रयोग हुन नसकेको बताए । अपागंलाई होच्याउने तरिकाले भाषाहरु प्रयोग हुने हुँदा त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । एनसि नेपालले पहिलो चरणमा सुदूरपश्चिमका ६ वटा स्थानीय तहका केहि विद्यालयमा काम गर्दै आएको छ । कैलालीको कैलारी, भजनी र मोहन्याल गाउँपालिका र डोटीको केआईसिंह गाउँपालिका, बडीकेदार र बोगटान पालिकामा काम गरिरहेको हो । त्यसपछि क्रमसः प्रदेशका डडेल्धुरा वाहेक सबै जिल्लामा काम गर्ने जनाएको छ ।
कार्यक्रममा रदिप महर्जनले अनुगमन र मुल्यांकन जवाफ सरोकारवालाहरुको सर्वेक्षण प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयको वार्षिक कार्ययोजना नभेटिएको, प्रदेश सरकारसंग समन्वय नभएको जस्ता थुप्रै समस्याहरु उल्लेख गरेका थिए । कार्यक्रममा एनसि नेपालका सचिव टेकराज अवस्थीले शिक्षाको सुधारका लागि धेरै प्रयास गरेको बताए । समावेशी शिक्षामा संस्थाले विशेष जोड दिएको उनले बताए । कार्यक्रममा विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अधिकारकर्मी हर्कबहादुर ओलीले गरेका हुन् ।
