सुदूरपश्चिम सशस्त्रले बढायो राजस्व चुहावट नियन्त्रण

अत्तरिया : कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।
२४ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममार्फत बाहिनीपति तथा डीआईजी दीपक अधिकारीले विवरण सार्वजनिक गरेका हुन् ।
उनले सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सुदूरपश्चिमस्थित बाहिनीले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न कार्यहरुको समष्टिगत प्रगति विवरण सार्वजनिक गरेको हो । उनले सीमा सुरक्षा, आन्तरिक शान्ति, राजस्व सुरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिएको जानकारी दिए ।
डीआईजी अधिकारीका अनुसार सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायत विभिन्न विपद् व्यवस्थापनमा सक्रिय भई २ हजार १ सय २५ जनाको सकुशल उद्धार तथा १४ जनाको मृत उद्धार गरिएको छ । यस्तै, ८१ वटा कृत्रिम घटना अभ्यासमार्फत २५ हजार ६१ जना नागरिक तथा सुरक्षाकर्मीहरू लाभान्वित भएका छन् ।
यस्तै ४ सय ५१ स्थानमा मठमन्दिर, विद्यालय र सार्वजनिक स्थल सरसफाइ गरिएको छ । साथै, ३ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरी ज्यान जोखिममा परेका व्यक्तिलाई जीवनदान दिएका छन् । नेपाल सरकारको “एक व्यक्ति, एक बिरुवा” अभियान अन्तर्गत १ हजार ५ सय ४६ वटा बोट बिरुवा रोपिएको जानकारी पनि दिइएको छ ।
गत आर्थिक वर्षमा ११ करोड ६० लाख रुपैयाँ भन्दा बढीको अबैध राजस्व चुहावट नियन्त्रण गरिएकोमा यो वर्ष त्यो रकम बढेर १८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.३७ प्रतिशतले बढी हो । लागुऔषध कारोबारमा संलग्न ७२ जना, मानव बेचबिखनमा संलग्न ५१ जना व्यक्ति पक्राउ गरिएको छ ।
सिमा सहजीकरण बैठक २ सय १५ पटक, स्थानीय बासिन्दासँग १ सय ९५ वटा सशस्त्र प्रहरी कार्यक्रम, तथा २५ हजार ४ सय ५१ वटा संयुक्त र एकल गस्तीहरू संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट भवन निर्माण, सिसी क्यामेरा खरिद, खानेपानी धारा जस्ता योजनाका लागि ७ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा बाहिनीले आभार व्यक्त गरेको छ । साथै, भविष्यमा पनि फिल्ड अस्पताल, पूर्वाधार निर्माण तथा उपकरण खरिदमा सहयोगको अपेक्षा गरिएको छ ।
यस्तै डीआईजी अधिकारीले सशस्त्र प्रहरी बललाई आवश्यक साधनस्रोतको अभावमा केन्द्रको साथसाथै प्रदेश तथा स्थानीय सरकार, र विभिन्न संघसंस्थाहरुको निरन्तर सहयोग र सहकार्यको आवश्यकता रहेको भन्दै सबैप्रति आभार व्यक्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.