अत्तरिया, २५ चैत : कञ्चनपुर केन्द्रीय कार्यालय रहेको उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै राइस मिलमार्फत उत्पादन गरेको ‘उदयदेब चामल’ को बिक्री अत्तरिया बाट पनि सुरु गरेको छ ।
संस्थाले चामलको बजार विस्तार गर्ने उद्देश्य सहित सेवा केन्द्र रहेको कैलालीको अत्तरियाबाट पनि आईतबार देखि बिक्री सुरु गरेको हो ।
अत्तरिया सेवा केन्द्र प्रमुख सुरेन्द्र ऐरले सहकारीमा आबद्ध सदस्यहरूको मागलाई मध्यनजर गर्दै २५ किलोग्रामको चामलको बोरा १ हजार ३ सय २५ रुपैयाँ मा विक्रि गरेको छ । सहकारीले कृषि उत्पादनलाई प्रवद्र्धन गर्दै आत्मनिर्भरता बढाउने लक्ष्यसहित आफ्नै राइस मिल स्थापना गरी स्थानीयस्तरमै चामल उत्पादन सुरु गरेको हो ।
साथै, सहकारीले ‘शिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ कृषि तथा अन्य शिपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको छ । यी तालिमहरू मार्फत सदस्यहरूलाई सीपयुक्त बनाई आर्थिक रूपले सक्षम बनाउने उद्देश्य संस्थाको रहेको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई गुणस्तरीय चामल सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ सहकारीले चामल बिक्री सुरु गरेको जानकारी दिएको छ ।
सम्बन्धित पाेस्टहरु