अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नगर स्तरीय आधारभूत तह (कक्षा ८) को नजिता सार्वजनिक गरेको छ । नगरपालिको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार सोमबार नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजा अनुसार चालु शैक्षिक सत्र २०८१ मा ५४.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल ३ हजार १४८ विद्यार्थी सहभागी भएकोमा १ हजार ७२० विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो शैक्षिक सत्र २०८० मा ४३.७५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । जसमा २ हजार ६२७ विद्यार्थी सहभागी भएकोमा १ हजार १४५ विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्षको नतिजा गत वर्षको भन्दा सुधार भएको नगरपालिकाले जनाएको छ ।
यस वर्ष नन ग्रेड (अनुत्तीर्ण) भएका १ हजार ४२८ मध्ये मध्ये दुई विषयमा मात्रै अनुत्तीर्ण भएका ७८५ जनाले पूरक परीक्षा दिन पाउने नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रयागराज जोशीले बताए । गोदावरीमा यस वर्ष सामुदायिक तर्फ ३० र निजी तर्फ २९ विद्यालय सहभागी भएका थिए । जसमा निजी तर्फ ८६.०५ प्रतिशत उत्तीर्ण हुँदा सामुदायिक तर्फ ३६।६३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जुन निजीको तुलनामा निकै कमजोर नतिजा हो ।
अघिल्लो शैक्षिक सत्र २०८० मा सामुदायिक तर्फ ३०.३५ र संस्थागत तर्फ ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष निजीको नतिजामा धेरै सुधार आएको भएपनि सामुदायिकमा भने थोरै मात्रै सुधार देखिएको छ । शैक्षिक सत्र २०७९ मा भने ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नगरपालिकाले शैक्षिक सत्र २०८० देखि नगरपालिकाबाटै परीक्षा सञ्चालन गरेर नगरबाटै उत्तर पुस्तीका जाँच गर्न सुरु गरेको थियो ।