अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का भुवन महरा नेतृत्वको प्यानलले विजय भएको छ।
महरा ४४१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बम बहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरे। बिश्वकर्मा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन–संयुक्त प्यानलबाट उम्मेदवार थिए।
महरा यसअघि पनि सभापति पदमा निर्वाचित भइसकेका थिए, र यो उनको दोस्रो कार्यकाल हो। सचिव पदमा नेविसंघकी उम्मेदवार ज्योति साहु ४७४ मत प्राप्त गर्दै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी गणेशनाथ योगीले ३२६ मत पाए। त्यस्तै, कोषाध्यक्ष पदमा नेविसंघकी सोनिया शाह ४४५ मतसहित निर्वाचित हुँदा, प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत प्राप्त गरिन्।
सदस्य पदतर्फ पनि अधिकांश स्थानमा नेविसंघका उम्मेदवार विजयी भएका छन्। निर्वाचनमा कुल ८३१ मत खसेको थियो। विजयपछि बोल्दै महराले स्ववियुमा पारदर्शिता, उत्तरदायित्व र विद्यार्थीका हकअधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले विगतका अधुरा कामहरूलाई निरन्तरता दिँदै क्याम्पस सुधारको अभियान अघि बढाउने कुराहरूमा आफु प्रतिबद्ध गरेको समेत बताए । यस जितसँगै दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघको पकड अझ सुदृढ भएको मानिएको छ।