अत्तरिया, २८ चैत : कैलालीको गोदावरी नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी र लेखा शाखा प्रमुख प्रकाश भट्ट लाई स्वागत गरिएको छ । उप–सचिवस्तरका अधिकृत बिनाडीलाई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले खादा र माला अर्पण गरी औपचारिक रुपमा स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्टले प्रमुख प्रशासकीय अधिकृत बिनाडीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । नगर प्रमुख भट्टले प्रशासनिक दक्षता, अनुभव र नेतृत्व क्षमताले नगरको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै समन्वय र सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले नगरपालिकाको प्रशासनिक सेवा प्रवाह, योजना कार्यान्वयन, वित्तीय अनुशासन तथा जनसरोकारका विषयमा थप प्रभावकारिता देखिने अपेक्षा व्यक्त गरे । कर्मचारीतर्फबाट पनि प्रमुख प्रशासकीय अधिकृत बिनाडीलाई सहकार्यका लागि पूर्ण सहयोग रहने प्रतिवद्धता जनाइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय सरकार, जनप्रतिनिधि तथा कर्मचारीहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए । कार्यक्रम गोदावरी नगरपालिकाको सभाहलमा आयोजित गरिएको थियो ।
सम्बन्धित पाेस्टहरु