चैतन्य हाफ म्याराथनको उपाधि आर्मीका खडकालाइ

धनगढीः नयाँ वर्ष २०८२ को अवसरमा धनगढी जेसिजद्वारा आयोजित ११ औं संस्करणको “अब धनगढी दौडन्छ” चैतन्य हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका धावक खड्क बहादुर खडकाले हात पार्न सफल भएका छन्।

खडकाले २१.१ किलोमिटर दूरी १ घण्टा ३ मिनेट २१ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरे।उनले उपाधिसहित नगद रु ७५,००० पुरस्कार प्राप्त गरे। त्यस्तै नेपाली सेनाका राजन रोकाया दोस्रो र नरेन्द्र सिंह रावत तेस्रो भए।रोकायाले रु ५०,००० र रावतले रु २५,००० नगद पुरस्कार प्राप्त गरे।

कार्यक्रमको मुख्य प्रायोजक चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका हुन्।कर्पोरेटतर्फ ५ किमी दौडमा पनि उत्साहजनक सहभागिता देखिएको थियो।महिला तर्फ लक्ष्मी भट्ट प्रथम भइन् भने कमला बडुवाल दोस्रो र शान्ता वलि तेस्रो भइन्।पुरुषतर्फ विक्रम पार्कीले प्रथम स्थान हासिल गरे, देवेन्द्र चन्द दोस्रो र चन्द नाथ तेस्रो भए।

महिला र पुरुष तर्फ प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः रु ७,५००, रु ५,००० र रु २,५०० पुरस्कार प्राप्त गरे। ट्राइसाइकलतर्फ सहभागी सम्पूर्णलाई सम्मान गरिएको संयोजक दीपक गौतमले जानकारी दिए।कार्यक्रमको समापन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको उपस्थितिमा सम्पन्न भएको थियो।दौड आज बिहान धनगढी चौराहाबाट सुरु भई गेटा मेडिकल कलेजको मनेहरा पुल मोड हुँदै मिलनचोक पुगेर पुनः धनगढी चौराहामै समापन भएको थियो।धनगढी जेसिजले २०१४ देखि हरेक नयाँ वर्षको अवसरमा म्याराथन आयोजना गर्दै आएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.