अत्तरियामा कैनी हत्यामा संलग्नको आरोपमा सशस्त्र प्रहरीका भगौडा पक्राउ

धनगढी,बैशाख ४।कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ स्थित अत्तरियामा ३५ वर्षीय जगदीश कैनीको हत्यामा संलग्नको आरोपमा एक सशस्त्र प्रहरीका भगौडालाई प्रहरीले पक्राउ गरेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको शव केही दिनअघि अत्तरियामा सडकपेटीमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले घटनामा संलग्न रहेको आशंकामा एक सशस्त्र प्रहरीका पूर्व भगौडालाई अत्तरिया क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्त माओवादीका पूर्व लडाकु समेत रहेका छन् र उनी केही समयदेखि मृतक कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए। यसअघि प्रहरीले घटनामा संलग्न आशंकामा दुई जना अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो।तीमध्ये एक जना,जसको शरीरमा अपांगता रहेको बताइएको छ,उनले प्रारम्भिक बयानमा हत्या गरेको स्वीकार गरे पनि सो बयानलाई पुष्टि गर्ने प्रमाण अभावका कारण अनुसन्धानमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय पक्राउ परेका अर्का अभियुक्तले मृतक कैनीले आफ्नी श्रीमतीलाई जिस्काउने, अपांगता भएको भन्दै होच्याउने र पैसा चोरी गर्ने जस्ता क्रियाकलाप गरेका कारण आक्रोशमा आएर ढुंगाले हानेर हत्या गरेको बयान दिएका छन्।हाल तीनै जना अभियुक्तविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको छ। घटनाबारे थप जानकारी सार्वजनिक गर्न इलाका प्रहरी कार्यालय मालाखेतीले बिहीबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.