धनगढी: कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरमा मृत अवस्थामा फेला परेका जगदीश कैनीको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
गोदावरी नगरपालिका–१ स्थित मन्दिर परिसरमा चैत २७ गते बिहान मृत भेटिएका ५५ वर्षीय कैनीको हत्या गरेको आरोपमा बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्तबहादुर बोहरालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो।
प्रहरीका अनुसार, चैत २६ गते राति बोहराले मदिरा सेवनपछि गोजीमा रहेको पैसा हराएको भन्दै कैनीमाथि ढुंगाले प्रहार गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरू मन्दिर नजिकैको शिविरमा एक महिलासँग सँगै मदिरा सेवन गरिरहेको देखिएको थियो। राति करिब ९ बजेतिर मदिरा किन्ने बहानामा बजार गएका बोहरा केही समयपछि फर्केर मन्दिर परिसरमै सुतेका थिए। राति पानी लिन उठेका बोहरा गोजीमा रहेको चार सय रुपैयाँ नदेखिएपछि रिसमा आएर सुतेका कैनीमाथि ढुंगाले प्रहार गरेका थिए।
प्रहरीका अनुसार, हत्या पश्चात उनले शवलाई केही तल तानेर थप प्रहार गरेका थिए र प्रमाण नष्ट गर्न खोजेका थिए। बिहान करिब ५ बजेतिर उनी धनगढी पुगेर चौलानी होटलमा काम गर्न थालेका थिए। त्यही होटलबाट दुई हजार रुपियाँ बाटो खर्च लिई घर जाने बहानामा निस्केका बोहरा पुनः घटनास्थल नजिकै मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार, बोहराले सुरुवातमा घटनामा संलग्नता अस्वीकार गरे पनि थप सोधपुछ र सीसी टिभी फुटेजलगायतका प्रमाणको आधारमा उनले अपराध स्वीकार गरेका हुन्। बोहरामाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
प्रहरीका अनुसार, हेमन्त पूर्व सशस्त्र प्रहरी जवान हुन् र हाल होटलमा काम गर्दै आएका थिए। उनी केही समयअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएका थिए। मृतक र अभियुक्तबीच पहिले कुनै पनि चिनजान वा सम्पर्क नभएको प्रहरीको भनाइ छ। यस घटनामा थप अनुसन्धान जारी रहेको र नियन्त्रणमा लिइएका अन्य तीन जनाको संलग्नता बारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।