सुदूरपश्चिम सरकारले गठन गर्यो लागुऔषध नियन्त्रण तथा सीमामा सहजीकरणका लागी समिति

धनगढी:सुदूरपश्चिम प्रदेश सरकारले लागुऔषध नियन्त्रण सुपरीवेक्षण र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव संयोजक रहनेगरि लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समिति गठन गरिएको प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बरबहादुर बमले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले दुई वटा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए।उनकाअनुसार प्रमुख सचिवको संयोजक रहनेगरि गठन गरिने लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समितिमा प्रदेश सचिव,आन्तरिक मामिला तथा कानून मन्त्रालय,कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी,नेपाली सेना बाहेक तीन वटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान) सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य रहनेछन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

यस्तै, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समितिमा पनि प्रमुख सचिव संयोजक रहनेछन्।आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचि, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीन वटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान) सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

सरकारले सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समितिले राजश्व अभिवृद्धी, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरुको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहज हुने विश्वास गरेको छ। दुवै समितिलाई कार्यविवरण र कार्ययोजना तयार गरेर कार्यान्वयन गर्न समेत सरकारले निर्देशन दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.