धनगढी: सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा कैलाली जिल्लाको कैलारी गाउँपालिकाको गाउँसभा हलमा ६ स्थानीय तहको सहभागितामा नमूना गाउँसभा सम्पन्न भएको छ।
नेपालको संविधानको धारा २२७ बमोजिम तथा प्रदेश ऐन २०७५ अनुसार गाउँसभा तथा नगरसभा सञ्चालनको अभ्यासस्वरूप आयोजित कार्यक्रमको तेस्रो दिन कैलारी गाउँपालिकामा डेमो अभ्यास गरिएको हो।
उक्त कार्यक्रममा कैलाली, डडेल्धुरा र बैतडी जिल्लाका नवदुर्गा, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका, पञ्चेश्वर, सिगास र डिलासैनी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सभाका समितिका सभापतिहरूको सक्रिय सहभागिता रहेको थियो।
गाउँपालिकामा वर्षे अधिवेशन तथा हिउँदे अधिवेशनमा गरिने सम्पूर्ण प्रक्रिया अभ्यास गरिएको उक्त कार्यक्रममा अधिवक्ता झंकर कुँवर, तेजराज उपाध्यक्ष र राजेन्द्र विक्रम शाहीले सहजीकरण गरेका थिए।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, सामाजिक विकास समितिका सभापति सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी र प्रशासन शाखा प्रमुख सोमप्रसाद चौधरीलगायतले सहभागीहरूलाई स्वागत गरेका थिए।सहभागी पालिकाहरूबीच अनुभव आदानप्रदानसँगै गाउँसभा सञ्चालन प्रक्रियामा एकरूपता र सुदृढीकरण हुने विश्वास व्यक्त गरिएको छ।