धनगढी:धनगढी उपमहानगरपालिका–४ मा निर्माणाधीन चार सडकहरूमा नक्सामा उल्लेखित मापदण्ड विपरीत चौडाइ घटाएर निर्माण भइरहेको भन्दै स्थानीयवासीहरू आन्दोलित भएका छन्।
उनीहरूले यसरी सडक साँघुरो बनाएर आफ्ना निकटका व्यक्तिको घरजग्गा जोगाउने प्रयास भएको गुनासो गरेका छन्।स्थानीयहरूका अनुसार पुरानो मुख्यमन्त्री निवासदेखि शिवपुरी सडकतर्फ जोडिने सडक नक्सा अनुसार नबनाई सिधै कालोपत्रे प्रक्रिया अघि बढाइएको छ। यस विषयमा स्थानीयले उप–महानगरपालिकाको न्यायिक समितिमा उजुरी समेत दर्ता गरेका छन्।
“सडक विस्तारको नाममा कतै उठिबास लगाउने, कतै आफ्ना मान्छेहरूको सम्पत्ति बचाउने काम भइरहेको छ,” स्थानीय नरोत्तम भट्टले बताए। वडाध्यक्ष बुद्धिबहादुर खड्काको नजिकका व्यक्तिको जग्गा रहेको स्थानमा सडकको चौडाइ नै घटाइएको भट्टको आरोप छ।स्थानीय तीर्थराज जोशीले निर्माण कम्पनीले गुणस्तरहीन काम गरिरहेको र राजनीतिक पहुँचवालालाई फाइदा पुग्ने गरी सडक निर्माण भइरहेको बताए।
“नारा ‘सुशासन तथा हाम्रो धनगढी हामी बनाउँछौं’ भनेर चलेको छ तर व्यवहार उल्टो छ,” उनले भने।यता, उप–प्रमुख कन्दकला रानाले सडक निर्माण सहमतिका आधारमा, मापदण्ड अनुसार नै भइरहेको दाबी गरेकी छन्। वडा अध्यक्ष खड्काले पनि नाली, पोल, पाइप र फुटपाथको लागि एक मिटरसम्म ठाउँ छोडिएको बताएका छन्।
तर उजुरीपछि उप–प्रमुख, वडा अध्यक्ष, स्थानीय तथा प्राविधिकको टोलीले स्थल निरीक्षण गर्दा साँच्चै नै सडकको चौडाइ नक्साभन्दा कम भएको पाइएको हो।सडक निर्माणको जिम्मा सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, कैलाली र चन्द्रशेखर डिजाइनिङ कन्स्ट्रक्सन प्रालि बीचको सम्झौतामा आधारित छ। बहुवर्षीय आयोजना अन्तर्गत निर्माण भइरहेको यो सडक २०८२ सालको असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको छ।स्थानीयको विरोध र गुनासोका कारण परियोजना विवादमा तानिएको छ। छानबिन तथा सार्वजनिक सुनुवाइको माग उठिरहेको छ।