अत्तरिया, ९ बैशाख : याक नेपाल पोषण परियोजनाले गोदावरी नगरपालिका वडा नं. ९, ११ र १२ का ५ सय परिवारलाई पोषणयुक्त आहार सेवन गर्न र आफ्नै खेतबारीमा तरकारी उत्पादन गरी उपभोग गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको छ ।
परियोजनाको प्रभावकारिता र कार्यान्वयन अवस्था अवलोकन गर्न गोदावरी नगरपालिका तथा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका प्रतिनिधिहरूद्वारा मंगलबार अनुगमन गरिएको हो । अनुगमन टोलीमा याक नेपालका अध्यक्ष बलबहादुर रोकाया, केयर नेपाल लगायत अन्य संस्थाका प्रतिनिधि र नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, कृषि शाखा प्रमुख नन्दी मल्ल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी लगायतका पालिका कर्मचारीको उपस्थितिमा अनुगमन गरेको छ ।
परियोजना अन्तर्गत प्रति परिवार करिव १० हजार रुपैयाँका दरले सहयोग गरिएको छ । उक्त रकम प्रयोग गरी लाभग्राहीहरूले घरायसी तथा व्यवसायिक तरिकाले तरकारी खेती सञ्चालन गरेका हुन । अनुगमनका क्रममा वडा नं. ११ की कृषक गीता कुमारी शर्मा ओलानीले याक नेपालबाट प्रति व्यक्ति कृषि एटीएम कार्ड सहित ९ हजार ९ सय १३ रुपैयाँको अनुदान प्राप्त गरेको जानकारी दिइन ।
परियोजनामा कियर नेपाल र याक नेपालको साझेदारीमा नगरपालिका, विशेष गरी महिला समूह, व्यवसायिक महिला कृषक समूह तथा स्वास्थ्य आमा समूहहरूलाई समावेश गरिएको छ । वडा नं. ११ का १२ समूह र वडा नं. १२ का १० समूह र वडा नं. ९ का ३ समुहका सदस्यलाई प्रति व्यक्ति ९ हजार ९ सय १३ रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको हो ।
याक नेपालले कृषि, पोषण, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक तथा सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा समेत विविध कार्यक्रम सञ्चालन गरिरहेको छ । सोमबार मात्र याक नेपालले गोदावरी नगरपालिकालाई करिब १६ लाख रुपैयाँ मूल्य बराबरको पोर्टेबल ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरेको थियो । यस मेसिनबाट नगरका १२ वटै वडाका स्वास्थ्य संस्थामार्फत मासिक रुपमा तालिम प्राप्त नर्समार्फत सेवा प्रदान गरिनेछ, जसले विशेषगरी ग्रामीण क्षेत्रका गर्भवती महिलालाई सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
याक नेपालले नगर क्षेत्रका शीघ्र कुपोषित बालबालिकाका लागि खाद्य तथा सरसफाइ सामग्री समेत वितरण गर्दै आएको छ । पहेँलो सूचीमा परेका १ सय ४६ जनालाई प्रति व्यक्ति २ हजार ५ सय रुपैयाँ बराबर र कडा शीघ्र कुपोषणमा परेका २६ जनालाई ३ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।
वडा नं. ९ की स्वास्थ्य आमा समूहकी सदस्य सन्तोषी रानाले गँड्यौला मल, काँक्रा, खुर्सानी, लौका, फर्सी, तिते करेला आदि उत्पादन गरी घर व्यवहार चलाउनुका साथै बिक्रीबाट केही आम्दानी गरी बचत पनि गरेको बताइन् । अनुगमनका क्रममा नगर प्रमुख बिरेन्द्र भट्टले उत्पादन भएका वस्तुहरू स्थानीय बजारमा बिक्री वितरण नभएमा नगरपालिकाले अत्तरिया हाटबजारसम्म पु¥याउन सहयोग गर्ने आश्वासन दिए ।
सम्बन्धित पाेस्टहरु