अत्तरिया, १० बैशाख : कैलालीको गोदावरी नगरपालिका–२ मा अवस्थित तेघरी सामुदायिक वनलाई आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरू नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाले हस्तान्तरण गरेको छ ।
एक लाख रुपैयाँ बराबरको अग्निनियन्त्रण सामग्रीहरू सामुदायिक वनका अध्यक्ष कृष्णा महरालाई एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कार्यक्रम गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, नगर प्रवक्ता गोपालदत्त भट्ट, वडा नं. २ का अध्यक्ष यज्ञबहादुर महरा, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशी र रेडक्रस अत्तरियाका अध्यक्ष लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले वन संरक्षणमा रेडक्रसले देखाएको सक्रियताको प्रशंसा गर्दै अग्निनियन्त्रण सामग्रीको सही सदुपयोग गरिनुपर्ने कुरामा जोड दिए । साथै, उनले आगलागी रोकथामका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको पनि उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले भने समुदाय स्तरमै विपद् व्यवस्थापन क्षमताको विकास गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।
सम्बन्धित पाेस्टहरु