
अत्तरिया, १४ बैशाख : सुदूरपश्चिम घर भएका नेपालीहरुले ईजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन गरेका छन् । विभिन्न कामको सिलसिलामा ईजरायलमा कार्यरत नेपालीहरुले शनिबार उक्त समाज गठन गरेका हुन् ।
अनलाईन भर्चुअल मार्फत भएको प्रथम अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा आशिकाकुमारी भण्डारी, उपाध्यक्षमा नविन जोशी, महिला उपाध्यक्षमा भावना साउँद, महासचिवमा विनोदकुमार ठगुन्ना, सचिवमा नवराज बिष्ट, कोषाध्यक्षमा खगिसरा बुढा (ज्योति) र सहकोषाध्यक्षमा जीवन डगौंरा चयन भएका छन् ।
अधिवेशनले नेपाल संयोजकमा अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सैना, सदस्यहरु नरेन्द्रसिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी र नन्दकली रानालाई चयन गरेको छ ।
प्रथम अधिवेशको उद्घाटन इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले गरेका थिए । उद्घाटन कार्यक्रममा उनले ईजरायलमा रहेका सुदूरपश्चिमका युवाहरु एक सुत्रमा बाँधिने प्रयास गरेको भन्दै प्रशंसा गरे । उनले भने ‘सुदूरपश्चिमका मात्रै तपाईहरु कति जना यहाँ बस्नु हुन्छ एकीन तथ्यांक त छैन । तर पनि तपाईहरुले आफ्नो जन्मभुमि सम्झिएर केही गर्ने प्रयासको थालनी गर्नु भएको छ, यो प्रशंसा योग्य छ ।’
उनले भने ‘तपाईहरु रोजगारीको सिलसिलामा इजरायल आउनु भएको छ, सर्वप्रथम आफ्नो शारिरिक, मानसिक स्वास्थ्यको ख्याल गर्नु होला । यहाँ सिकेका सीपहरु सुदूरपश्चिममा यहाँहरुले पुराउनुपर्छ ।’ राजदुत पण्डितले सुदूरपश्चिम विकासको सम्भावना भएको ठाउँ हुँदाहुँदै पनि त्यहाँ गरिबी, पछौटेपन अझै कायमै रहेको बताए । सुदूरपश्चिम धार्मिक, साँस्कृतिक, पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले त्यस क्षेत्रको विकासका लागि आआफ्नो क्षेत्रबाट लाग्न जरुरी रहेको उनले बताए । राजदुत पण्डीतले नेपाल सरकारले इजरायलबाट धेरै लाभ लिन सक्ने समेत बताए । उनले कृषि, आईटी लगायतका क्षेत्रमा नेपालीहरुले इजरायलबाट अवसर लिनु पर्ने बताए ।
इजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता लामो समयदेखि ईजरायलमा बस्दै आएका तर्दथ समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै,कार्यक्रममा अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाजका अध्यक्ष शेरबहादुर राउत, संस्थापक अध्यक्ष एवं संरक्षक धनराज बलायर, सुमी शाह, ज्योति शर्मा, एनआरएनका इजरायलका महासचिव अलि मियाँलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मुल उद्देश्य राखेर संस्थाको गठन भएको संस्थाका महासचिव विनोद ठगुन्नाले जानकारी दिए । ठगुन्नाले भने–‘यो विशुद्ध सामाजिक संस्था हो । यसले इजरालयमा बस्ने सुदूरपश्चिमका युवाहरुले आफ्नो कला सस्कृत, भेषभुषा, रितीरिवाज, चालचलन लाई विश्वभर चिनाउन भुमिका खेल्ने छ ।’
सुदूरपश्चिको विकासको सम्भावनालाई उजागर गर्न विदेशमा रहेका नेपालीहरुलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने उनले बताए । विश्वका २२ वटा देशमा अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाज नेपालको गठन भएको छ ।
