Agni Offset Press

फेरिदैँ गोदावरीको ओलानी क्षेत्रको मुहार

Aarati simant

अत्तरिया : गोदावरी, कुनै समय विकटताको पर्याय बनेको साविकको गोदावरी गाविस अन्तर्गतको ओलानी गोदावरी–१२ क्षेत्रले अहिले दुर्गमता चिरेर विकासको नयाँ युगमा प्रवेश गरेको छ । अतितमा सडक सञ्जाल नपुगेको यो क्षेत्रमा अहिले सरर पानीपिच गरिएको कालोपत्रे सडकले तीव्रता पाएको छ । बिरामीलाई काँधमा बोकेर धनगढी वा अत्तरियाका अस्पताल पु-याउनुपर्ने बाध्यता अब इतिहास बनेको छ । पानीका लागि लाईन लाग्न पर्ने युगको अन्त्य भएको छ ।
स्थानीयको भनाइ अनुसार, पहिले अस्पताल लैजाँदै गर्दा बाटोमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउने गथ्र्यो । तर, अहिले भने आधुनिक सडक र मोटरेबल पुलहरूले सवारी साधन सहज सञ्चालनमा आएसँगै ओलानी क्षेत्रबाट अत्तरिया तथा धनगढीका अस्पतालहरूमा छिटो र सुरक्षितरूपमा बिरामी लैजान सकिने भएको छ । विगतमा खोलानालाहरूले वर्षेनी जनधनको क्षति गराइरहेको थियो । अहिले भने वडा नं. १०, ११ र १२ का खोलाहरूमा मोटरेबल पुलहरू निर्माण भई स्थायी समाधान भएको छ ।
खानेपानीको हकमा पनि यश क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । कुनै बेला महिलाहरूलाई मध्यरातमा उठेर कुलाबाट पानी भर्नुपर्ने बाध्यता थियो । समयमै पानी नभरे धमिलो हुने डरले बिहान सबेरै जाग्नु पर्ने अवस्था थियो । तर, अहिले झण्डै २४ सय घरधुरीलाई शुद्ध खानेपानी सेवा उपलब्ध गराइएको छ । चाक्लेखोलामा पुल निर्माण भएपछि ओलानी अत्तरियासंगै सहजै जोडिएको छ ।
पुल निर्माण भएपछि स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार आएको छ । कुनै समय ओलानी क्षेत्र एचआइभी एड्स संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र मानिन्थ्यो । तर अहिले स्वास्थ्य सचेतनाको अभिवृद्धिसँगै यो चुनौती पनि घट्दै गएको छ । स्थानीयहरू अब स्वास्थ्यप्रति सचेत बनेका छन् र आधारभूत स्वास्थ्य सेवा पहुँचमा आएको महसुस गरेका छन् ।
कृषि क्षेत्रमा पनि उत्साहजनक सुधार देखिएको छ । मोहना सिँचाइ आयोजनाले गति लिँदै क्षेत्रका किसानहरूलाई सिँचाइ सुविधा उपलब्ध गराएपछि कृषिमा उत्पादन वृद्धि भएको छ । गोदावरी नगरपालिका वडा नं. १२ का अध्यक्ष भीमबहादुर खड्काले यस क्षेत्रलाई बाख्रापालन र कुखुरापालनका लागि पकेट क्षेत्र घोषणा गर्न सके, स्थानीयको आर्थिक स्थिति अझै सुधारिने विश्वास व्यक्त गरेका छन ।
विकासले तीव्र गति लिएसँगै ओलानी क्षेत्रबाट तेस्रो मुलुकतर्फ रोजगारीका लागि जानेको सङ्ख्या पनि बढेको देखिन्छ । पहिले भारतमा मजदुरी गर्न जाने प्रचलन व्यापक थियो, अहिले भने तेस्रो मुलुकमा अवसर खोज्ने क्रम तीव्र भएको छ ।
विकासले ओलानीको अनुहार फेर्दै गर्दा केही क्षेत्रहरू जस्तै चापसल्ली अझै पनि केही हदसम्म पछि परेका छन् । वडा अध्यक्ष खड्काले बाँकी समस्याहरू पनि क्रमशः समाधान गर्दै लैजाने दाबी गरेका छन् । उनका अनुसार, २०७४ साल यता क्षेत्रले विकासको तीव्र गति लिएको समेत बताएका थिए ।
सडक सञ्जाल विस्तारका लागि चौकी डाँडा फाल्टुडे सडक आयोजनाले अझ बढी गति लिएपछि ओलानी क्षेत्रको भविष्य उज्ज्वल हुने अपेक्षा गरिएको छ । अध्यक्ष खड्काले भने, अब ओलानी दुर्गम क्षेत्र रहेन, केही भूगोलले गर्दा पहाडी क्षेत्र रहला तर हाम्रो सपना चिरेर विकासको उज्यालो यात्रा सुरु भइसकेको छ ।’
२०३०÷४२ दशकतिर पहाडी जिल्लाबाट बसाइँ सरेर आएको इतिहास बोकेको ओलानी, विकासका अवसरबाट पछि परेको थियो । तर अहिले स्थानीयहरूले विकासको मिठास अनुभूत गर्दै खुसी व्यक्त गरिरहेका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.