
अत्तरिया, १७ बैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकीमार्ग केन्द्रित तराईमधेश जागरण अभियान अपेक्षा भन्दा धेरै राम्रो भएको बताएका छन् ।
अभियानका क्रममा झापादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म पुग्दा माओवादी मात्रै नभएर अन्य पार्टीका जनप्रतिनिधिले देखाएको माया, भावनाले राष्ट्रिय अभियानको रुप लिएको उनको भनाइ छ ।
‘सबै राजनीतिक दलहरुका पालिका जहाँ उनीहरुका सरकार छन्, ती पालिकाले हामीलाई हार्दिकताका साथ न्यायो स्वागत गरे । अभियानले देश बचाउने र देशमा केही हुन्छ भन्ने आशा जागेको छ भनेर भन्नुभयो,’ प्रचण्डले भने, ‘त्यसकारण अभियान यहाँसम्म आउँदा माओवादी केन्द्रको मात्रै रहेन । राष्ट्रिय अभियान भयो । तराइ मधेशमा रहेका सबै दलको साझा अभियान बन्न पुग्यो । हामीलाई गर्व छ ।’
अभियानले अभुतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको बताउँदै दाहालले नेता र जनताबीचको सम्बन्ध सुदृढ समेत भएको बताए । आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गरिरहेका बेला अप्रजातान्त्रिक ढंगले रातको अध्यारोमा सरकारबाही बाहिर पठाइएको प्रचण्डले आरोप लगाए ।
भ्रष्ट्राचारीलाई बचाउन आफू नेतृत्वको सरकार ढालिएको उनको आरोप छ । ‘सुशासन र सामाजिक न्यायको पक्षमा सकरात्मक कदम चालेका थियौँ तर दलाल र बिचौलियालाई मन परेन,’ अभियानको समापन गर्दै प्रचण्डले भने, ‘हामीलाई अप्रजातान्त्रिक तरिकाले रातको अध्यारोमा सरकार बाहिरि पु¥याए ।’
सरकारबाट बाहिरिएपछि जनताको माझमा गएर भ्रष्टाचारका विरुद्ध नयाँ लडाइँ लडेको उनले बताए । अगामी दिनमा नयाँ शक्तिका साथ भ्रष्टाचार विरुद्ध नयाँ क्रान्ति अगाडि बढाउन सक्ने र शान्तिपूर्ण क्रान्तिको नयाँ चरणबाट समाजवादतिरको यात्रामा अगाडि बढ्ने प्रचण्डको विश्वास छ ।
