अत्तरिया, १८ बैशाख : अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालय र नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति, कैलालीको संयुक्त आयोजनामा सञ्चालित १५ दिने “आधारभूत कर्मकाण्ड प्रशिक्षण” कार्यक्रम बुधबार एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
समापन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय प्रकाश बम प्रमुख अतिथि थिए । उनले यस्ता प्रकारका प्रशिक्षणहरूले धार्मिक एवं सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने मात्र होइन, परम्परागत विधिहरूको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “हाम्रो मौलिक संस्कृति र परम्परागत ज्ञानको जगेर्नाका लागि यस्ता अभ्यास आवश्यक छन्,” बमले सम्बोधनका क्रममा उल्लेख गरे ।
कार्यक्रममा गोदावरी नगरपालिका–४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, आयोजक संस्थाका पदाधिकारीहरू, प्रशिक्षकहरू तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
१५ दिने प्रशिक्षण अवधिभर प्रशिक्षार्थीहरूले वेदपुरायण, संध्या वन्दन, पूजाविधि, होम यज्ञ, श्राद्धकर्म लगायतका विविध हिन्दू कर्मकाण्डका आधारभूत ज्ञान र व्यवहारिक अभ्यासहरू सिकेका थिए । प्रशिक्षकहरूको मार्गदर्शनमा सहभागीहरूले सैद्धान्तिक र प्रयोगात्मक रूपमा प्रशिक्षण लिएका थिए ।
समापन कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्कृत तथा धार्मिक परम्पराको निरन्तरता र स्थानीय तहबाट यस्ता पहलको प्रोत्साहन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । आयोजकद्वारा आगामी दिनमा यस्तै किसिमका दीर्घकालीन तथा उन्नत प्रशिक्षणहरू सञ्चालन गरिने जानकारी पनि दिइएको छ ।
सम्बन्धित पाेस्टहरु