
अत्तरिया : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको राजकाँडा तीन प्रदेशको पर्यटन पवर्धननका लागि संगमस्थलको रुपमा विकास हुने बताएका छन ।
उनले बिहीबार चिसापानी–राजकाँडा पैदलयात्रा प्रतियोगिताका उद्घाटन गर्दै यस्तो बताएका हुन। राजकाँडामा पुगेका मन्त्री पाण्डेले त्यहाँको ऐतिहासिक महत्वलाई उजागर गर्नुपर्ने बताए । राजकाँडामा रहेको धुलीकोट दरबार, जाल्पादेवी मन्दिरको महत्वसँगै त्यहाँबाट तराईतर्फ देखिने दृष्य अवलोकनका लागि पर्यटक आकर्षण हुने उनको भनाइ छ ।
मन्त्री पाण्डेले सात प्रदेशमा सातवटा टाकुरा कार्यक्रम अन्तर्गत कैलालीको चुरे पहाडमा पर्ने टाकुराहरुमा नीजि क्षेत्रले लगानी लगाउने वातावरण सरकारले बनाएको बताए । “सरकारले नीति राम्रो बनाउने हो, कानुन राम्रो बनाउने हो, निजी क्षेत्रको लगानीको बातावरण बनाउने हो । राजकाँडामा निजी क्षेत्रले लगानी लगाउँदैछ । राजकाँडा गुलजार हुन्छ ।”
लम्की चुहा नगरपालिका वडा ३ चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म केबलकारको काम अगाडि बढेको छ । नेपाल उधोग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिसत लगानी र स्थानीय व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानीमा निर्माण हुने केबलकार सञ्चालनले राजकाँडाको मुहार फेरिने अपेक्षा लिइएको छ ।
चुरे पहाडमा पर्ने राजकाडाँ क्षेत्र तराईको गर्मी छल्न र त्यहाँबाट तराईको सुन्दर दृष्य अवलोकनका लागि हिडेर उक्त क्षेत्र जाने गरिन्छ । करिब ६ किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा केबलकार सञ्चालन भएपछि आवत–जावतमा सहज हुने र पर्यटकको आगमन बढ्ने बताइन्छ ।
राजकाँडा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली प्रदेशको संगमस्थलको रुपमा रहनेछ । यहाँबाट खप्तड, रामारोशन, मालिका, बडिमालिका, रारा, बर्दिया राष्ट्रिय निकुञ्ज, टिकापुर, घोडाघोडी लगायतका क्षेत्र घुम्नलाई पायक पर्ने बताइएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा, लम्कीचुहा नगरपालिका प्रबर्धक तथा नवलसिंह रावल फाउन्डेसनको आयोजनामा उक्त प्रतियोगिता भएको हो । पदयात्रामा डोटी, बाजुरा, दार्चुला, कैलाली, अछामलगायतका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावले उक्त पद यात्रामा सुदूरपश्चिम प्रदेश सरकारको सिङ्गो टिमसहित ८८ वटा पालिकाका प्रमुख तथा उपप्रमुख, कार्यपालिका सदस्य, वडाअध्यक्ष लगायतलाई आमन्त्रण करिए पनि केही जिल्लाको मात्र उपस्थिति रहेको जनाए ।
उनले पदयात्रा प्रतियोगिताको मुख्य उद्देश्य राजकाँडाको महत्व उजागर गर्दै सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा विदेशी तथा स्वदेशी पर्यटक भित्र्याउने रहेको बताए ।
