अत्तरिया, १९ बैशाख : कैलालीको गोदावरी नगरपालिकाले शिक्षक, लेखापाल, तथा कार्यालय सहयोगीहरूलाई समेटेर नागरिक पेन्सन योजना कार्यान्वयनको सुरुवात गरेको छ । गोदावरी नागरिक पेन्सन योजना लागू गर्ने देशभरमै पहिलो स्थानीय तह रहको जनाएको छ ।
नगरपालिकाले नागरिक लगानी कोषसँग सहकार्यमा योगदानमा आधारित पेन्सन योजना प्रारम्भ गर्दै सामाजिक सुरक्षा कोषमा कर्मचारीहरूलाई आवद्ध गराउने प्रक्रिया थालेको हो ।
यस कार्यक्रमको अवसरमा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट र उप–प्रमुख शारदा देवी रोकायाको अगुवाइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडा अध्यक्षहरू, र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की, उप–निर्देशक नारायण प्रसाद घिमिरे, तथा शाखा प्रमुख हरिशचन्द्र श्रेष्ठको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
नगर प्रमुख भट्टले भने, यो योजना कर्मचारीहरूको आर्थिक सुरक्षातर्फको दूरदर्शी र सकारात्मक कदम हो । हाम्रो जनशक्तिको भविष्य सुनिश्चित गर्न नगरपालिकाले पहिलोपटक यस्तो ऐतिहासिक निर्णय लिएको छ ।’
कार्यक्रममा नागरिक लगानी कोषका प्रतिनिधिहरूलाई मायाको चिनो दिँदै नगरपालिकाले सम्मानसमेत प्रदान गरेको थियो । नगरपालिकाले आफ्नो नेतृत्वमा पहिलोपटक यस्तो कार्यक्रम लागू गरेर नजिर पेश गरेको छ, जुन अब अन्य पालिकाहरूका लागि पनि अनुकरणीय बन्ने विश्वास लिइएको छ । गोदावरी नगर क्षेत्रका शिक्षक, लेखापाल, तथा अन्य कर्मचारीहरू पेन्सन योजनामार्फत सेवा निवृत्तिपछि पनि आर्थिक रूपमा सुरक्षित हुनेछन्, जसले सामाजिक सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित पाेस्टहरु